काठमाडौं, १ फागुन । आज फागुन १ गते अर्थात जनयुद्ध दिवस । माओवादीले सशस्त्र युद्ध सुरु गरेको यो दिनलाई जनयुद्ध दिवसका रुपमा देशै भर मनाउने गरिएको छ । विभिन्न पार्टीमा विभाजित बनेका माओवादीले विविध कार्यक्रम गरी जनयुद्ध दिवसलाई सम्झिने गरेका छन् ।विक्रम संवत् २०५२ साल फागुन १ गते तत्कालिन माओवादीले जनयुद्ध सुरु गरेको थियो ।
२०६२ मा सात राजनीतिक दल र तत्कालिन विद्रोही माओवादीबीच भएको १२ बुँदे समझदारीको पृष्ठभूमिमा जनआन्दोलन सम्पन्न भएर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो ।विक्रम संवत् २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि सशस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो । सशस्त्र विद्रोह सुरु भएको दिनलाई तत्कालिन माओवादी र अहिलेको नेकपाले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ ।
शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन् । विभिन्न पार्टी र समूहमा विभाजित माओवादी पार्टीहरूले आज विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउँदै छन् ।
अध्यक्ष प्रचण्ड नेतृत्वको २६ औं जनयुद्ध दिवस मनाउँदैछ । राजधानी काठमाडौं सहित विभिन्न जिल्लामा जनयुद्ध दिवस मनाउन सर्कुलर गरिएको सो समूहले जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा विहान ९ बजे आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन् ।
अर्का अध्यक्ष माधवकुमार नेपाल काठमाडौं बाहिर रहेकाले कार्यक्रममा सहभागी हुन नसक्नुभएको नेकपा प्रचण्ड–माधव समूहले जनाएको छ । तर, दुबै अध्यक्षको सल्लाहमा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।-दृष्टिबाट/File Photo