काठमाडौं, १ फागुन । आज ले हिंसात्मक जनयुद्ध शुरु गरेको २६ वर्ष पुगेको छ ।
जनयुद्ध दिवस अधिकांश कम्युनिस्ट घटकहरुले मनाइरहेका छन् । प्रचण्ड नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवस मनाउन सर्कुलर नै जारी गरेको छ । उक्त समूहले विविध कार्यक्रम आयोजना गरी जनयुद्ध दिवस मनाइरहेको छ ।
शहीद स्मृती तथा सम्मान कार्यक्रम को ब्यानरमा जनयुद्ध दिवस मनाइरहेको हो । तर, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले भने जनयुद्ध दिवस मनाएन । ओली जनयुद्धलाई हिंसात्मक गतिविधिका रुपमा लिदै आएका छन् । उनको समूहको बादलले भने जनयुद्ध दिवस नमनाएकोमा असन्तुष्टि जनाएका छन् । उनी तत्कालिन नेकपा माओवादीको प्रभावशाली नेता थिए ।
यसैगरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि जनयुद्ध दिवस मनाइरहेको छ । उसले केही दिनयता जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाइरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका हालका अध्यक्ष प्रचण्डको नेतृत्वमा तत्कालिन माओवादीले १० वर्ष लामो जनयुद्ध गरेको थियो । जनयुद्धमा झण्डै १८ हजारको ज्यान गएको थियो ।
तत्कालिन माओवादीका नेताहरु अहिले विभिन्न राजनीतिक दलमा सक्रिय छन् । प्रचण्ड नेकपाका अध्यक्ष छन् । विप्लवले सरकारले प्रतिबन्ध गरेको नेकपाको नेतृत्व लिएका छन् । मोहन वैद्य किरणको अलग्गै पार्टी छ । बादल ओली समूहमा गएका छन् ।
जनयुद्ध दिवस मनाइरहँदा विप्लव सहित चारवटा कम्युनिस्ट घटकहरुले बिहिबार क्रान्तिकारी संयुक्त रणनैतिक मोर्चा घोषणा गरेका छन् ।
रणनैतिक संयुक्त मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृतवको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छन् । उनीहरु पनि जनयुद्ध दिवस मनाइरहेका छन् ।-फाइल तस्बिर