काठमाडौं, १ फागुन । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेका हुन । मन्त्री सोनलले कोरोना महामारीका कारण आशा गरे अनुरुप कार्य गर्न नसकेपनि उपलब्ध श्रोत साधनलाई समुचित प्रयोग गरिएको बताए । मन्त्रालयको वार्षिक प्रतिवेदन अनुसार प्रदेशभित्र सडक निर्माण, सिँचाई, खानेपानी, भौतिक संरचना निर्माण लगायतको क्षेत्रमा कार्य गरिएको छ ।
मन्त्री सोनलले कोरोना महामारीको प्रकोपका बावजुद प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्ममा एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत प्रदेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा ५ किलोमिटरका दरले कुल ३ सय ५६ किलोमिटर सडक निर्माण गरिएको बताए । जसमध्ये ५१ किलोमिटर कालोपत्रे सडक, ७५ किलोमिटर ढलान, १ सय ७० किलोमिटर ग्राभेल तथा ६० किलोमिटर नयाँ बाटो खोल्ने गरी निर्माण गरिएको बताए ।
त्यस्तै सिँचाई तर्फ ५ हजार ४ सय ३० हेक्टर जग्गा सिंचित गरिएको वार्षिक प्रगति विवरणमा उल्लेख छ । मन्त्री सोनलले ८ वटै जिल्लामा मझौला सिँचाई योजना कार्यान्वयनमा ल्याइने बताए । प्रत्येक जिल्लामा ४ सय हेक्टर जग्गा लाभान्वित हुने गरी ३/४ वटा मझौला सिंचाई योजना सञ्चालनमा ल्याइने मन्त्री सोनलले बताए ।
मन्त्रालयको प्रगति विवरणका अनुसार गत आर्थिक वर्षमा प्रदेश भित्र २६ वटा धर्मशाला निर्माण, ८ वटै जिल्ल्लामा गरी ९ वटा दलित छात्रावास निर्माण, ८ वटा ज्येष्ठ नागरिक आवास निर्माण कार्य सम्पन्न भएको छ । संघ सरकारको सहयोगमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले संचालन गर्दै आएको जनता आवास कार्यक्रम अन्तर्गत गत २ आर्थिक वर्षमा २ हजार २ सय १ घर निर्माण कार्य सम्पपन्न गरी हस्तान्तरण गरिएको मन्त्री सोनलले बताए । मन्त्री सोनलले चालु आर्थिक वर्ष जनता आवास कार्यक्रम अन्तर्गत ४ हजार ६ सय ५९ घर निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए ।