काठमाडौं, २ फागुन । बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध परेको रिटमाथि सुनवाईका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासमा मुद्दाको सुनुवाईका लागि पेसी तोकिएको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई विपक्षी बनाई तत्कालीन प्रधानमन्त्री नेपाल समेतलाई मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए । उनले रिटमा राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरेको उल्लेख गरेका छन् ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै रिट दायर भएको थियो ।
पूर्व प्रधानमन्त्री नेपालले यसअघि आफूलाई जेल हाल्न खोजिएको विषय उठाइरहँदा अदालतमा मुद्दाको पेसी तोकिनुलाई अर्थपूर्ण मानिएको छ ।