Logo

प्रविधिबाटै ट्राफिक व्यवस्थापन



काठमाडौँ,३ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ । नयाँ प्रविधिको प्रयोगसँगै ‘हात हल्लाएर तथा सिटी फुकेर’ दिइने सेवा देख्न पाइने छैन ।
उपत्यकाको ट्राफिक व्यवस्थापन कार्यलाई चुस्त, वैज्ञानिक तथा प्रभावकारी बनाउन प्रविधिको प्रयोग सकारात्मक हुने अपेक्षा गरिएको छ । ‘‘सडकचोकमा ट्राफिक जनशक्ति थुपारेर होइन अब प्रविधिबाटै काम हुने छ’’, महाशाखा प्रमुख जनकराज भट्टराईले भन्नुभयो ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्य समन्वयबाट क्रमशः प्रविधिको उच्चतम प्रयोगसम्बन्धी अभ्यास भइरहेको छ । महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भट्टराईका अनुसार ट्राफिकसम्बन्धी सेवाहरू प्रविधिमैत्री भइसकेका छन् । ट्राफिक कारबाहीसम्बन्धी जरिवाना, सवारी साधन हराएको वा चोरी भएको उजुरी, ट्राफिकसँग सम्बन्धित अन्य कागजपत्र लिनदिन ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । महाशाखाले गत सातादेखि यी सम्पूर्ण सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालेको हो ।

अब सवारी दुर्घटना बीमाको सिफारिस कागजपत्र पनि अनलाइनबाट नै उपलब्ध हुने गरेको छ । सवारी जरिवाना तथा अन्य शुल्क बुझाउन ई–सेवासँग सहकार्य गरी सीधै सरकारको राजस्वसम्बन्धी खातामा रकम जम्मा हुने व्यवस्था गरिएको छ । सडकचोकमा ट्राफिक जनशक्ति थुपारेर ‘हात हल्लाउने र सिटी फुक्ने’ परम्परागत व्यवस्था विस्थापित गर्न सवारी चाप हेरी बत्ती बाल्ने इन्टेलिजेन्स ट्राफिक बत्ती, भ्यु हेर्न मिल्ने सीसीटीभी, गति डिटेक्टर प्रविधि र रडार गनको विस्तारलाई प्राथमिकतामा राखेको छ ।

प्रविधिको उच्चतम प्रयोगले उपत्यकमा तैनाथ करिब एक हजार दुई सय ट्राफिक प्रहरी जनशक्ति घट्नेछ । दिनरात सडकमा खटिनुपर्ने बाध्यता हट्नेछ । चालक र ट्राफिकबीचको द्वन्द्व हट्नका साथै प्रमाणसहितको सवारी कारबाहीले प्राथमिकता पाउनेछ ।

सीसीटीभीबाट निगरानी

सवारी जाम घटाउनका लागि ‘ड्रोन’को प्रयोग, सेन्सरजडित स्वचालित ट्राफिक बत्ती, लेन अनुशासन, तीव्र गति, तथा अन्य कारबाहीका लागि उच्च स्तरीय सीसीटीभी जडानको तयारी हुँदैछ । भाडा बढी लिएमा वा दुर्घटना गरी फरार सवारी पत्ता लगाउन कम्प्युटरमा नम्बर राख्ने बित्तीकै सीसीटीभीले नै पिछा गर्ने प्रणाली जडान हुनेछ ।

कोरोना महामारीसँगै मदिरा सेवन (मापसे), लेन अनुशासन र ट्राफिक बत्तीसम्बन्धी नियम उल्लङ्घन गर्नेहरूका लागि सञ्चालित नियमित कक्षा अनलाइनबाट सञ्चालन गर्दै आएको छ । ट्राफिक जनचेतनासम्बन्धी कक्षाहरू अनलाइनबाट हुँदै आएका छन् ।

ट्राफिकसम्बन्धी सेवाहरू प्रविधिमैत्री भएसँगै रामशाहपथस्थित ट्राफिक महाशाखामा सेवाग्राहीको चाप ह्वात्तै घटेको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध सीसीटीभीबाट निगरानी राखी स्थलगत कारबाही र ट्राफिक बत्ती भएका चोकमा सवारी चाप तथा लाम हेरी स्वतः बत्ती बल्ने ‘इन्टेलिजेन्स’ प्रविधि राख्ने तयारी हुँदैछ।

त्यस्तै सवारीसम्बन्धी कागजपत्र महाशाखाबाट हेर्न मिल्ने गरी यातायात कार्यालयसँग छलफल भइरहेको जानकारी एसएसपी भट्टराईले दिनुभयो । शङ्का लागेका सवारीसाधन र धनीसम्बन्धी बुझ्न यातायात कार्यालय पुग्नुपर्ने बाध्यताका कारण चोरी र दुर्घटना गरी फरार हुनेको समस्या बढ्दैछ ।

इम्बोस्ट नम्बर अनिवार्य

इम्बोस्ट नम्बर प्लेट लागू भएसँगै सवारी चोरी स्वतः नियन्त्रण तथा राजस्व सङ्कलनमा वृद्धि हुनेछ । इम्बोस्ट नम्बर प्लेट परिवर्तन गर्न नसक्ने र गरे पनि तत्काल परीक्षण गरी सक्कली र नक्कली नम्बर प्लेट, इन्जिन तथा चेसिस नम्बर र सवारी धनी बुझ्न सकिने उपकरण प्रयोग हुदै आएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्