Logo

प्रचण्ड र माधव नेपालका विरोधीहरुलाई ओलीद्वारा खोजी खोजी अवसर



काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली विरोधीलाई साइजमा ल्याउन तिनका पनि विरोधीलाई च्याप्न थालेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो संविधानसभा निर्वाचनमा सिराहामा झण्डै चुनाव हराएका लिलानाथ श्रेष्ठलाई मन्त्री बनाए ।

प्रचण्डलाई चितवनमा चुनावी टक्कर दिने विक्रम पाण्डेलाई पनि ओलीले नजिक बनाइसकेका छन् । पाण्डे विगतमा चितवनबाट चुनाव जित्न सफल भएका थिए । निर्माण व्यवसायी पाण्डेलाई पछिल्लो समय प्रधानमन्त्री ओलीले निकट ल्याएकाछन् । चुनाव भइहाले प्रचण्डविरुद्ध पाण्डेलाई सहयोग गर्ने रणनीति समेत बनाइएको छ ।

भरतपुर महानगरपालिकामा रेनु दाहालसँग मेयरका प्रतिष्पर्धी देवी ज्ञवालीलाई पनि ओलीले अवसर दिएका छन् । मतपत्र च्यातिएपछि पुनः मतगणना हुँदा ज्ञवाली झीनो मतान्तरले दाहालसँग पराजित भएका थिए । यो प्रकरणले निकै चर्चा कमाएको थियो ।

यसैगरी, नेकपा दाहाल-नेपाल पक्षधरका अध्यक्ष माधवकुमार नेपाललाई पनि अप्ठ्यारो पार्न ओलीले रणनीति बनाएका छन् । उनले माधव नेपालको गृहजिल्ला रौतहटमा उनलाई कमजोर पार्न प्रभावशाली नेताहरुलाई नजिक ल्याएका छन् । रौतहटका प्रभावशाली नेता प्रभु साहलाई ओलीले मन्त्री बनाएर आफ्नो साथमा ल्याइसकेका छन् ।

विरोधीका विरोधीलाई साथमा लिई अप्ठ्यारोमा पार्ने ओलीको रणनीति खुल्दै गएको छ । उनले खोजी खोजी प्रचण्ड र माधव नेपालका विरोधीलाई अवसर दिन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot