डा. विजय ज्ञवाली : सामान्यतः पीडा दुई प्रकारका हुन्छन्, शारीरिक र मानसिक । मैले आज प्रसंग उठाउन खोजेको विषय चाहिँ मानसिक पीडा हो । पटक(पटक काउन्सिलिङका क्रममा व्यक्तिको अनुभूति सुन्दा(बुझ्दा मैले पीडाका बारेमा महसुस गरेको सत्य के हो भने पीडाको वजन, मात्रा, प्रकार, आकार र रंग केही हुँदैन । यो यस्तो अनुभूति हो, जसलाई व्याख्या गर्न सकिँदैन ।
पीडाको बारेमा बुझेको अर्को सत्यता मलाई अझ रोचक लाग्छ । पीडा अन्त्यहीन हुँदैन र यसको परिणाम सधैं नकारात्मक पनि हुँदैन । मानसिक पीडालाई मैले मनको प्रतिक्रियाका रुपमा लिन्छु । अझ यो तपाईंको सोचाइ(धारणा, भौतिकता र वास्तविकतासँग तपाईंको मनले गरेको विद्रोह हो । समय र मन यो प्रक्रियामा सक्रिय हुन्छन् । यसमा देखिने लक्षण चाहिँ मन शरीर र मस्तिष्कको ’रेस्पोन्स’ हो ।
केही वर्षअघि मैले एक जना व्यक्ति भेटेँ, जो आफÞ्नो प्रेम सफल नभएकोमा आफÞ्नो जीवन अन्त्य गर्न तयार भएका थिए । ३ महिना भएको उनको प्रेम वैदेशिक यात्राको कारण टुंगिएको थियो । उनकै साथीको सहयोग र आग्रहमा जब मैले भेटेँ, उनको अवस्था अत्यन्त दयनीय देखिन्थ्यो । भोक नलाग्ने, अव्यवस्थित जीवनशैली जस्ता कुराले चिन्तित साथीमार्फत उनी मेरो सम्पर्कमा आएका थिए । मेरा लागि त्यो घटना अत्यन्त शिक्षाप्रद त्यति बेला भयो, जो साथी उनलाई लिएर आएका थिए, उनले केही दिनअघि आफÞ्नी आमा गुमाएका थिए । प्रेम गुमाउनेको पीडा कम र उनको साथीको पीडा बढी भनेर मैले भने त्यो असत्य हुन्छ । तर त्यो घटनाले मलाई पीडालाई समय र व्यक्तिको ग्रहण क्षमताले प्रभाव पार्छ भन्ने कुरा बुझ्न सजिलो भयो ।
पीडा कम र बढी भन्ने हुँदैन । यो तुलना हुँदैन । तर व्यक्तिको ग्रहण क्षमताले यसको निर्धारण गर्छ । दुःख पीडाको रंग, आकार र प्रकार हुँदैन । समस्या पूर्ण रुपमा व्यक्तिको ग्रहण क्षमतामा निर्भर रहन्छ । प्रत्येक व्यक्तिको ग्रहण क्षमता फरक हुन्छ । समस्यालाई हाम्रो सिस्टमले कसरी प्रतिक्रिया गर्छ भन्ने महत्त्वपूर्ण रहन्छ । हाम्रो शरीर र मनले गर्ने प्रतिक्रिया नै पीडाका रुपमा आउने हो। ठूलो समस्यामा पीडा बढी सानोमा कमभन्दा पनि समस्या अर्थात् कारण र पीडाको निर्धारण व्यक्तिको ग्रहण क्षमताले निर्धारण गर्ने विषयवस्तु हो ।
पीडा सत्य हो । यो हुन्छ र यो असह्य नै हुन्छ । यसको अस्तित्व, कठिनाइ र योभित्रको अनुभूति सबै सत्य हुन् । यति हुँदाहुँदै पनि योभित्रका केही भूमिकाले हामीलाई भविष्यमा भैपरि आउने अर्को पीडासित जुध्न तयार पार्छ । पीडाले मान्छेलाई मानसिक रुपमा बलियो बनाउँछ । अझ भनौं, हामीभित्रको मानसिक लचकतालाई बढाउँछ । तसर्थ पीडा सत्य हो । यसको प्रभाव पनि सत्य हो र यसको अन्त्य पनि सत्य हो ।
आगोले पोल्छ । सानोतिनो पोलाइको अनुभूति हामी सबैसित हुन्छ । तर हामी ठूलो पोलाइ हुँदैन भनी आगोको प्रयोग गर्छौं । विश्वास र आवश्यकताका कारण आगोसित हाम्रो सम्बन्ध कायम छ । जीवन पनि त्यही हो । पीडा हुन्छ । सानोतिनो अनुभूति हामी प्रत्येक दिन गर्छौं र जीवन जिउँछौं, यही विश्वासका साथ कि ठूलो पीडा हुने छैन भनेर । विश्वास र आवश्यकताले पीडासित लड्न हामीलाई प्रेरणा दिन्छ । प्रत्येक पीडाको उपचार समय हो । पीडा प्राकृतिक हो । कसको कारण कृत्रिम देखिएला तर त्योभित्रको अनुभूति प्राकृतिक हो । त्यो सत्यलाई हामीले बुझेको खण्डमा पीडाको आयु छोटिन सक्छ ।
मैले भेटेको प्रेमी भाइ अहिले अरुसित प्रेममा छन् र आमा गुमाएको उनको साथीले आमाको नाममा सामाजिक कार्य गरेको फोटो सामाजिक सञ्जालमा राखेका छन् । म उनीहरु अहिले पीडामा छैनन् त भन्न सक्दिनँ । तर उनीहरु प्राकृतिक र व्यावहारिक रुपमा हिलिङ् प्रक्रियामा छन् जस्तो मलाई लाग्छ । पीडा बुझ्नु र स्वीकार गर्नु नै पीडाको निराकरण (हिलिङ्) को प्रक्रिया हो । मैले बुझेको पीडाभित्रको सत्यबोध यही हो ।
लेखक क्लिनिङ साइकोलोजिस्ट हुन् ।