Logo

देश अब संकटकालतर्फ



समाचार विश्लेषण । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकबाट ५ पौषमा प्रतिनिधि सभा विघटनको सिफारिश गर्न चालेको कदमले देशले एकपछि अर्को नयाँ मोड लिन थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशलाई तत्काल सदर गरेकी थिइन् । त्यसविरुद्ध अदालतमा रिट दायर भएपछि मुद्दाको अन्तिम किनारा अर्को हप्ताभित्र लाग्ने अपेक्षा गरिदैछ ।

यतिबेला सबैको ध्यान सर्वोच्च अदालततर्फ छ । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा विचाराधीन छ । अदालतको निर्णय नै महत्वपूर्ण हुनेछ । प्रतिनिधि सभा विघटनको पक्षमा फैसला सुनाएमा देश चुनाव या मुठभेडतर्फ जाने निश्चित नै छ ।

वैशाखका लागि तोकिएपनि चुनाव हुने विश्वास कमैलाई लागेको छ । स्वयं सरकारका मन्त्रीहरुले नै चुनाव वैशाखमा हुनेमा आशंका गर्न थालेका छन् । चुनाव भइ नै हालेमा शान्तिपूर्ण हुने सम्भावना कमै छ । त्यसमाथि प्रचण्ड, माधव कुमार नेपालको समूहका अलावा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षधर जनता समाजवादी पार्टी चुनावमा जाने सम्भावना निकै कम छ । दलहरुभित्रै चुनाव या संसद पुनःस्थापनाबारे ध्रवीकरण बढ्दो छ । यसकारण पनि अब देशमा मुठभेडको खतरा बढेको छ ।

प्रतिनिधि सभा बिघटनको पक्षमा सर्वोच्चले फैसला गरेर वैशाखमा चुनाव हुन नसके प्रधानमन्त्री केपी शर्मा ओली नैतिक संकटमा पर्नेछन् । त्यसमाथि विरोधीहरुले सडक तताउन लगेका छन् । नेकपा अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगलाई घुमाउरो तरिकाले धम्की दिएका छन् । सर्वोच्च अदालतले संसद विघटनको पक्षमा फैसला गरेमा सजिलो नठान्न चेतावनी दिएका छन् । निर्वाचन आयोगप्रति पनि प्रचण्डको आशंका छ ।

प्रचण्डले अबको आन्दोलन शाकाहारी नहुने भन्दै आफू पक्षधर युवालाई आक्रामक बन्न भनिसकेका छन् । उनले अब अदालतबाट नभई सडक संघर्षबाट प्रतिनिधि सभा पुनःस्थापना सम्भव भएको बुझाईसँगै रणनीतिहरु चाल्न थालेका छन् । यसकारण देशमा अस्थिरता बढेर अराजकताको अवस्था आउने खतरा छ ।

एकातर्फ विराधीको सडकबाट दबाब र चुनाव तोकिको मितिमा चुनाव गर्न नसके ओली फेरि अर्को संकटमा पर्न सक्छन् । देशमा अराजकता बढ्न नदिने बहानामा उनले देशमा संकटकाल लगाउने सम्मको तयारी गरेका छन् ।

निर्वाचन आयोगबाट सुर्य चिन्ह फ्रिज या ओली समूहलाई दिने तयारी नभएको होइन । त्यस्तो निर्णय चुनौतीपूर्ण छँदैछ । तर, अहिलेको विकसित घटनाक्रमले मार्ग त्यतै कोर्दैछ ।

चुनाव वैशाखमा हुन नसक्ने निश्चित भएमा देशमा उत्पन्न हुने परिस्थितितर्फ देखाउँदै संकटकाललाई ओलीले बलियो अस्त्रका रुपमा पनि लिदैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot