काठमाडौं, ६ फागुन । सरकारले भिभिआईपी र भिआईपीको सुरक्षामा खटाएको सुरक्षाकर्मी फिर्ता बोलाएको छ । यसको सबभन्दा ठूलो असर पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपा दाहाल नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई परेको छ । सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी फिर्ता बोलाएपछि अहिले दाहालको सुरक्षामा पूर्व जनमुक्ति सेनाका लडाकु खटिएका छन् । अध्यक्ष प्रचण्डको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्व लडाकुको टोली खटिएको दाहालको सचिवालयले जनाएको छ । तर, उनीहरु स्वयमसेवकको रुपमा खटिएको जनाईएको छ ।
दाहाल शान्ति प्रक्रियामा आएपछि उनलाई सुरक्षा चूनौतिलाई ध्यान दिएर तत्कालिन सरकारले नै ठूलो मात्रामा सुरक्षाकर्मी खटाएको थियो । अहिलेपनि दाहाललाई सुरक्षा चुनौति रहेको बेला सरकारले नियतवश सुरक्षाकर्मीलाई फिर्ता लगेको दाहालको सचिवालयको गुनासो छ । दाहाललाई नेपाल प्रहरीबाट डीएसपीको कमाण्डमा २६ र सशस्त्रबाट इन्सपेक्टरको कमान्डमा ४७ सुरक्षाकर्मी तैनाथ थिए। तर, सरकारले पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने निर्णय गरेपछि प्रचण्डको सुरक्षामा अहिले १८ जना मात्रै छन्। ५५ सुरक्षाकर्मी सरकारले फिर्ता लिएको छ। File Photo/ReportersNepal