Logo

प्रवासी जीवन र अल्कोहोलिजम



डा. विजय ज्ञवाली : विदेशी भूमिको जीवन भन्नासाथ यससँग जोडिएर आउने फुक्काफाल जीवन पनि बुझिन्छ । परिवारबाट टाढा हुँदाको शून्यता, थकित जीवन र त्यो बेलामा प्रयोग गर्न पाउने स्वतन्त्रताका कारण धेरै मानिस विदेशी भूमिमा पुगेपछि मादक पदार्थको दुर्व्यसनीमा परिणत हुने गरेका छन् । विदेशी भूमिमा लागुपदार्थको अत्यधिक सेवनका कारण स्वास्थ्य नाजुक भई अस्पताल पुग्ने र सम्पत्ति गुमाउनेको संख्यामात्र नभएर मृत्युको मुखमा पुग्नेको संख्या धेरै रहेको छ ।

क्लिनिकल मनोविज्ञ डा. विजय ज्ञवालीका अनुसार विदेशी भूमिमा हुने आकस्मिक निधनको एउटा प्रमुख कारण मदिराको अत्यधिक प्रयोग पनि हो । यसबाहेक यसबाट विभिन्न प्रकारको मनो-सामाजिक समस्याबाट पीडित हुनेको संख्या पनि उल्लेखनीय छ । विशेष गरी खाडी मुलुकका कामदारबीच कमसल प्रकारको रक्सीको प्रयोगका कारण विभिन्न समस्या उत्पन्न भएको देखिन्छ ।

रक्सीको खाने मात्रालाई साधारण रुपमा पेग भनिन्छ । जसअनुसार १ पेग भनेको ३५५ मिलिलिटर बियरमा ५% अल्कोहोल, २६० मिलिलिटर माल्टा बियरमा ७% अल्कोहोल, १४८ मिलिलिटर वाइनमा १२% अल्कोहल र हिवस्कीदउ ४४% अल्कोहोल हुन्छ । देश अनुसार प्रयोग गर्ने मादक पदार्थ र लागुपदार्थ फरक-फरक भए तापनि विशेष गरी रक्सीको अत्यधिक प्रयोगका कारण उत्पन्न हुने समस्या बढी भएका कारण यस लेखमा अल्कोहोलिजमबारे चर्चा गरिने छ ।

के हो अल्कोहोलिजम ?
अल्कोहोलिजम त्यो अवस्था हो, जुन अवस्थामा व्यक्तिले रक्सीको प्रयोगमाथिको आफ़्नो मानसिक नियन्त्रणलाई गुमाउँछ र पूर्णतः रक्सीलाई आफ़्नो जीवन समर्पित गर्छ । यसको असर शारीरिक र मानसिक दुवै हुने गर्छ ।
– रक्सीको मात्रा निर्धारणमा आफ़्नो नियन्त्रण गुमाउनु ।
– अत्यधिक तलतलको महसुस गर्नु ।
– लुकाएर वा एक्लै रक्सीको सेवन थाल्नु ।
– रक्सी नखाँदा वाकवाकी लाग्नु, काम्नु, पसिना आउनु ।
–  आफ़्नो कुरा बिर्सनु । कहिलेकाहीँ गर्नुपर्ने काम, कर्तव्य सबै बिर्सेर भावशून्य हुनु ।
– निर्धारित समयमा रक्सी नभई नहुने हुनु । त्यो समयमा प्राप्त नभए तनाव, रिसको महसुस गर्नु, हिंस्रक व्यवहार बढ्नु ।
– रक्सीको कारण घरपरिवार, समाज, जागिरजस्ता ठाउँमा समस्या देखिनु ।
– गाडी, शौचालय जस्ता ठाउँमा पनि रक्सीको प्रयोग थाल्नु ।
– रक्सीबाहेक अरु कुरामा रुचि नहुनु आदि ।

कुन अवस्थामा विज्ञको सहयोग लिने ?
कतिपय व्यक्ति आफूले कति खाएको भन्ने जानकारी राख्दैनन् र अधिकांश अवस्थामा धेरै नपिएको भन्ठान्छन् । तसर्थ साधारणतः कुन अवस्थामा विज्ञको सल्लाह लिने बारेमा तल केही बुँदामा प्रस्तुत गरिएको छः

  • पुरुषको हकमा ५ पेग र महिलाको हकमा ४ पेग दिनहुँ लिन्छ भने ।
  • बिहानैदेखि रक्सीको तलतल लाग्छ भने ।
  • रक्सी खाएपछि पश्चात्ताप महसुस हुन्छ भने ।
  • परिवार, साथीभाइ र समाजले तपाईंको रक्सी खाने बानीको बारेमा आलोचना गर्छ भने विज्ञको सल्लाहमा जानु जरुरी छ ।

 

Dr.Bijay Gyawali

Clinical Psychologist ,Health and Social Science Specialist



प्रतिक्रिया दिनुहोस्