Logo

प्रतिनिधिसभा विघटन गरेर सरकारको अप्रजातान्त्रिक आकांक्षा छर्लंग बनाएको नेता सिंहको आरोप



काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन गरेर सरकारको अप्रजातान्त्रिक आकांक्षा छर्लंग बनाएको आरोप लगाएका छन् । नेता सिंहले ७१ औ प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सिंहले प्रजातन्त्र ल्याउन कांग्रेसका नेताहरु विपि कोइराला, गणेशमान सिंह, किष्ण प्रसाद भट्टराई, सुवर्ण शमशेर लगायतका सयौं नेता, कार्यकर्ताहरूको योगदान अतुलनीय रहेको पनि बताए ।

उनले महान् चार शहिदहरू र प्रजातन्त्रका लागि बलिदान दिने सबै ज्ञात अज्ञात शहिदहरू र जेलनेल भोग्नुभएका प्रजातन्त्र प्रेमीहरूलाई स्मरण गर्दै लेखेका छन्, ‘हामीले ठूलो संघर्ष र बलिदानबाट प्रजातन्त्र प्राप्त त गर्याैं, तर पटक–पटक संकटमा पर्दै आएको छ ।’

आज फागुन ७ गते, राष्ट्रिय प्रजातन्त्र दिवस । २००७ सालको नेपाली कांग्रेसको राणा विरोधी क्रान्तिबाट रैतीका रूपमा रहेका जनता नागरिक बनेको दिन । तत्कालीन व्यवस्थाले खोसेको स्वतन्त्रता प्राप्त भएको र हुकुमी शासन अन्त्य भएर विधिको शासन स्थापित भएको ऐतिहासिक दिन । प्रजातन्त्र ल्याउन नेतृत्व गरेका कांग्रेसका श्रद्धेय नेता प्रजातन्त्रका सेनानी, अथक योद्धा विपि कोइराला, गणेशमान सिंह, किसुनजी, सुवर्ण शमशेर लगायतका सयौं नेता, कार्यकर्ताहरूको योगदान अतुलनीय छ । हाम्रा महान् चार शहिदहरू र प्रजातन्त्रका लागि बलिदान दिने सबै ज्ञात अज्ञात शहिदहरू र जेलनेल भोग्नुभएका प्रजातन्त्र प्रेमीहरूलाई आजको विशेष दिनमा स्मरण गर्दै सम्मान व्यक्त गर्न चाहन्छु ।

हामीले ठूलो संघर्ष र बलिदानबाट प्रजातन्त्र प्राप्त त गर्याैं, तर पटक–पटक संकटमा पर्दै आएको छ । विधिको शासन र नागरिक स्वतन्त्रता माथि अझै बेलाबेलामा प्रहार हुँदै आएको छ । अहिलेको सरकार विधिको हैन हुकुमी शासनको बाटोमा अघि बढ्दा प्रजातन्त्रमाथि पुनः खतरा उत्पन्न भएको छ । अभिव्यक्ति स्वतन्त्रता, नागरिक स्वतन्त्रता कुण्ठित गर्ने खालका विधेयकहरू ल्याउनु र संविधानमा हुँदै नभएको व्यवस्था छ भनेर प्रतिनिधिसभा विघटन गर्नुले सरकारको अप्रजातान्त्रिक आकांक्षा छर्लंग बनाएको छ ।

संविधान मिच्नेहरुलाई ट्रयाकमा ल्याउनुपर्ने दायित्व यतिबेला हाम्रो काँधमा छ । त्यस्तै पार्टीका गतिविधि पनि प्रजातान्त्रिक तवरबाट अगाडि बढाउनु पर्ने दायित्व हामीमा छ । समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीलाई विधिसम्मत ढंगबाट अघि बढाएर आन्तरिक प्रजातन्त्र मजबुत गर्नुपर्ने चुनौति पनि छ । प्रजातन्त्रका पक्षमा अनवरत उभिने तागत हामी सबैमा रहिरहोस् । विधिको शासन बलियो बन्दै जाओस् । प्रजातन्त्र दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रकाश मान सिह ।जय नेपाल ।



प्रतिक्रिया दिनुहोस्