Logo

विप्लव वार्तामा आउने सम्भावना कसरी बन्यो



काठमाडौं, ८ फागुन । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वार्तामा आउन सकारात्मक भएको जानकारी गराएका छन् । उनले आज प्रेस विज्ञप्तिमार्फत् सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराएका हुन् ।

सरकारविरुद्ध भूमिगत र अर्धभूमिगत अवस्थामा हिंसात्मक गतिविधि समेत गर्दै आएको विप्लवले आज विज्ञप्तिमार्फत् वार्ताका लागि सकारात्मक रहेको भनेपछि भित्र भित्र वार्ताको पहल खुलेको छ । यसअघि २० माघमा खानेपानीमन्त्री मणि थापाले नख्खु कारागार पुगी विप्लव पक्षका नेता हेमन्त प्रकाश ओलीलाई भेटेका थिए ।

विप्लवसँग वार्ताको पहल गर्दै मणि थापा, जेल पुगेर ओलीसँग भेट

एनसेल बम विष्फोटको अभियोगमा पक्राऊ परेका सुदर्शन भनिने ओलीसँगको भेटले वार्ताका लागि पहलले गति लिएको हो । पूर्व माओवादी नेता समेत रहेका मणि थापाको पहलमा सरकारबाट विप्लवसम्म सम्पर्क गर्ने वातावरण तयार भएको थियो । सुदर्शन विप्लव समूहको मध्यकमाण्ड इञ्चार्ज हुन् ।

विप्लवसहित चार कम्युनिस्ट घटकले २९ माघमा संयुक्त रणतैनिक मोर्चाको घोषणा गरेसँगै शान्तिपूर्ण राजनीतिक मूलधारमा आउने संकेत मिलेको थियो । मोर्चामा मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी थिए । मोर्चाले १५ सदस्यीय केन्द्रीय कमिटी समेत घोषणा गरिसकेको छ ।

विप्लवसहित चार कम्युनिस्ट घटकको रणनैतिक मोर्चा घोषणा, १५ सदस्यीय केन्द्रीय समिति गठन (विज्ञप्तिसहित)

मोर्चाका केन्द्रीय सदस्य ऋषिराम कट्टेलले विप्लव वार्तामा आउनसक्ने खुलासा गरेका थिए । उनले विप्लवको गतिविधि वाध्यात्मक भएकाले वातावरण बनेमा वार्ता हुने बताएका थिए ।

नेकपाको विभाजनसँगै ओली र प्रचण्डले विप्लवलाई आफ्नो साथमा ल्याउन कोशिश गरिरहँदा वार्ताका लागि पछिल्लो जानकारीले तरंग ल्याएको छ । विप्लवलाई वार्तामा ल्याउन सरकारले अब थप पहल गर्ने सम्भावना पनि बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot