Logo

नाका नखुल्दा सीमाक्षेत्रका व्यवसाय संकटमा



झापा, फागुन ९ । नाका बन्द हुँदा झापाका सीमावर्ती क्षेत्रका ठूला बजार र होटेल व्यवसाय संकटमा परेका छन् । जिल्लाका काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुले पनि नाका बन्द हुँदा चहलपहल छैन ।

सरकारले गतवर्ष चैत ११ गते बन्दाबन्दी घोषणा गरेसँगै सीमा नाका बन्द भए । त्यसको तीन महीनापछि बन्दाबन्दी खुल्यो, तर नाका खुलेन । ११ महीनादेखिको लगातार नाका बन्दले सीमाक्षेत्रको होटेल र अरू व्यवसाय चौपट भएको होटेल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए । उनका अनुसार पूर्वीद्वार काँकडभिट्टामा मात्र साना–ठूला ४०० भन्दा होटेल सञ्चालनमा छन् । यसै वर्ष मेचीनगरमा खुलेको पाँचतारे होटेल मेची क्राउन पनि नाका नखुल्दा पर्यटक अभावमा संकट खेपिरहेको छ ।

संघका अध्यक्ष श्रेष्ठका अनुसार बन्दाबन्दी यता काँकडभिट्टाका थुप्रै होटेल व्यवसायी पलायन भइसकेका छन् । कतिपयले घरधनीको भाडा तिर्न नसक्दा होटेलको तालाचाबीसँगै फर्निचरलगायत सामान घरधनीलाई बुझाएर व्यवसाय छाडेका छन् ।

‘होटेल व्यवसायीले नाका खुलाउन स्थानीय, प्रदेश र संघीय सरकारलाई समेत गुहारे । काँकडभिट्टामा व्यवसायीले संघर्ष समिति गठन गरेर एक महिना निरन्तर आन्दोलन सञ्चालन गरे,’ उनले भने, ‘नाराजुलुस, धर्ना र सभाको बाक्लै कार्यक्रम आयोजना गर्दासमेत सरकारले व्यवसायीको पीरमर्का सुनेन ।’

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले माथिबाट आदेश नआएसम्म नाका नखुल्ने बताए । तर आवश्यक कामकाजका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर नाकाबाट दुवै देशका नागरिकले आउजाउ गर्न पाइरहेको उनको भनाइ छ । ‘यद्यपि पहिलेको भन्दा अहिले नाका सहज बनाइएको छ,’ उनले भने ।

भारतबाट आँखाको उपचारका लागि काँकडभिट्टा हुँदै दिनहुँ सयौं भारतीय नागरिक नेपाल आउने गर्छन् । उपचारका लागि नेपाल आउने र नेपालबाट भारत जानेलाई अवरोध नगरिएको प्रहरीको भनाइ छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot