Logo

कर्णाली करिडोरको काम धमाधम टाढा रहेन सिमकोट



सुर्खेत, फागुन ९ । कर्णाली प्रदेशको विकासको मेरुदण्ड मानिएको कर्णाली करिडोरको काम यतिबेला धमाधम भइरहेको छ । राष्ट्रिय राजमार्गले नछोएको हुम्लाका सदरमुकाम सुन्दर सिमकोट अब चाँडै सडक सञ्जालसित जोडिने छ ।

कर्णाली करिडोरको विभिन्न खण्ड निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएपछि यो करिडोर निर्माणले गति लिएको हो । आगामी असारसम्ममा हुम्लाको सलीसल्लासम्म सवारी साधन सञ्चालन हुने गरी काम भइरहेको छ । यहाँबाट हुम्लाको सदरमुकाम सिमकोट पुग्न अब ५० किलोमिटर छ ।

सुर्खेतको बाँगेसल्लादेखि दहीखोलासम्म १२६ किलोमिटर कर्णाली राजमार्ग नै पर्ने भएकाले पक्की सडक छ । खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक करिब डेढ सय किलोमिटर हुनेछ । सुरुमा कालीकोटको खुलालुदेखि हिल्सासम्मलाई कर्णाली करिडोर मानिए पनि अहिले यसलाई सुर्खेतको बाँगेसिमलदेखि हिल्सासम्मको ४१० किलोमिटर मानिएको छ ।

यो करिडोरलाई भारतसँग पनिजोड्नुपर्छ भन्ने अवधारणा आएपछि बाँकेको जुमनाहदेखि हिल्सासम्म जोड्नुपर्ने योजना बनाइएको छ ।दुई दशकअघि २०५६ सालमा शिलान्यास गरिएको कर्णाली करिडोर २०६६ सालसम्म सडक विभागले निर्माण गरिरहेको थियो । करिडोरमा ठूलाठूला चट्टान र अप्ठेरो पहाड पर्ने भएपछि सडक निर्माणका लागि २०७१ चैतमा नेपाली सेनालाई जिम्मा लगाइएको थियो ।

यस आयोजना आर्थिक वर्ष २०६५र६६ देखि सुरु भई आव २०७०र७१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको अपेक्षा गरिएकोमा संशोधन भई आव २०७९र८० मा सम्पन्न हुने गरी म्याद थप गरिएको छ ।

सवारी साधन सञ्चालन
कालीकोटको ३८।५ किलोमिटर र बाजुराको ४४ किलोमिटर गरी कर्णाली करिडोरको ८३ किलोमिटर सडकमा सवारी साधन चल्न थालिसकेका छन् । कालीकोट खण्ड नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि पचालझरना गाउँपालिकाको लैफुसम्मको ४० किलोमिटर क्षेत्रमा पर्ने खुलालु खोलामा १३० फिटको बेलिब्रिज निर्माण र खुलालुकै करिब दुई किलोमिटर क्षेत्रको चट्टान फुटाउने काम भइरहेको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ ।
यी काम सम्पन्न गरी आगामी असारमा सडक डिभिजनलाई हस्तान्तरण गर्ने योजना रहेको नेपाली सेना निर्माण कार्यदलका प्रमुख सेनानी मिलन कार्कीले जानकारी दिए। प्रमुख सेनानी कार्कीले २० करोड ३८ लाख रुपियाँ माग गरिएकोमा रकम निकासासमेत भइसकेको जानकारी दिए ।

असारभित्रै हस्तान्तरण
बाजुरा जिल्लामा पर्ने ४४ किलोमिटर सडक खण्डमा सवारी साधन सञ्चालन हुन थालिसकेका छन् । हुम्ला जिल्लामा पर्ने १८४ किलोमिटरमध्ये कवाडीदेखि बालुकुनासम्मको २७ किलोमिटर सडक निर्माण कार्य पूरा भएर हाल सवारी साधन सञ्चालन भइरहेका छन् । आगामी असारसम्ममा सलीसल्लासम्म सवारी साधन सञ्चालन गर्ने लक्ष्य छ । योसँगै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट चाँडै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो ।

नेपाली सेनाले जिम्मेवारी लिएको कालीकोट, बाजुरा र हुम्ला खण्डमध्ये हुम्ला जिल्लाको काम अन्तिम चरण पु¥याइएको खुलालु–लैफु–कवाडी–सलीसल्ला सडक निर्माण दलका योजना प्रमुख इन्जिनियर मिलन कार्कीले बताए । हुम्ला खण्डमा पर्ने ३९ किलोमिटर सडकमध्ये दुई किलोमिटर सडक निर्माण सम्पन्न हुन बाँकी छ । कवाडीदेखि बालुकुनासम्मको २७ किलोमिटर सडक निर्माण कार्य पूरा भएर हाल सवारी साधन सञ्चालन भइरहेका छन् ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot