Logo

पुनःस्थापना होइन, निर्वाचन हो समाधान



काठमाडौं, फागुन ९ । प्रतिनिधिसभा विघटनविरुद्ध पक्ष–विपक्षको बहस र एमिकस क्युरीको राय फागुन ७ मा सकिएपछि अब सर्वोच्च अदालतले सम्भवतः एक साताभित्र फैसला दिनेछ । प्रतिनिधिसभाको निर्वाचन वा प्रतिनिधिसभाको पुनःस्थापना भन्ने विवादको टुङ्गो लागेपछि कथित प्रतिगमनविरोधी राजनीतिक र नागरिक आन्दोलन कता पुग्छ, त्यो प्रतीक्षाकै विषय रहनेछ । उता, निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता र चुनाव चिह्नबारे प्रारम्भिक निर्णय दिइसकेपछि निर्वाचनमा सहभागी हुन सबै दललाई आह्वान गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा तथ्य र तर्कसहितको बहसमा छ भने जनशक्ति प्रदर्शन पनि गरिरहेको छ । प्रचण्ड–माधव नेपाल समूह भने प्रतिनिधिसभा पुनःस्थापनाभन्दा अर्को विकल्प नरहेको भन्दै अदालत र आयोगलाई धम्क्याउँदै प्रदर्शन गरिरहेको छ । प्रचण्ड–माधवको समयको सबैभन्दा ठूलो हिस्सा ओलीविरुद्धको आक्रमणमा केन्द्रित छ । सत्तारोहणको चाहना धुलिसात भएपछि आवेगवश सिर्जित यस्ता क्षणिक आग्रहका आन्दोलनमा एजेन्डा र विचार हुँदैन । प्रचण्ड–माधवको राजनीति त्यही हो ।

नेपाली काँग्रेस भने बाहिर प्रतिनिधिसभा विघटनको विरोध गर्दै भित्र निर्वाचनको तयारीमा देखिन्छ । सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा काँग्रेसले बोल्न नमिल्ने भन्दै पुनःस्थापना वा निर्वाचन जस्तो फैसला आए पनि स्वीकार्ने बताउँदै आउनु त्यसकै अभिव्यक्ति हो । पार्टीभित्र र बाहिरको दबाबका बाबजुद देउवाको यो अडान सही छ । सम्भवतः देउवा चुप लागेर प्राप्त गर्ने रणनीतिक लाभका पक्षमा हुनुहुन्छ, जो पार्टीभित्र पनि उहाँ अनुकूल देखिन्छ । फाुगन ७ मा उहाँले शुक्रबार नुवाकोटमा भन्नुभयो, ‘निर्वाचन हुन्छ । निर्वाचन वैशाखमै हुन्छ । काँग्रेस निर्वाचनमा जानुपर्छ ।’ अर्थात् सत्तारूढ दलका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री ओली र प्रतिपक्षी दलका सभापति घोषित समयमै निर्वाचनको पक्षमा छन्।

जनता समाजवादी पार्टी (जसपा)भित्र निर्वाचन र पुनःस्थापना दुवैथरी मत विवादतर्फ उन्मुख छ । बाबुराम भट्टराई र उपेन्द्र यादव निर्वाचनको विरोधमा हुनुहुन्छ भने महन्थ ठाकुरसहितको बाँकी नेतृत्व निर्वाचनमा जान तयार देखिन्छ । यसमा सम्भवतः राजनीतिक पूर्वविरासत (लिगेसी) देखि जातीय पहिचानको असफल राजनीति व्युँताउने गलत प्रयास र त्यसको प्रतिरोधसमेत मिसिएको छ । जबर्जस्ती टाँस्सिएको यो पार्टी एकताको साझा तत्वमा खियालागेको देखिँदै छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot