Logo

सुरुङ र पुलको बोलपत्र आह्वान



काठमाडौं, फागुन ९ । काठमाडौँ–तराई द्रुत मार्गको सुरुङ मार्ग र हाइब्रिज (मोटरेबल पुल)निर्माणका लागि प्रक्रिया सुरु भएको छ । द्रुत मार्गको ‘माइलस्टोन’का रूपमा लिइएको सुरुङ मार्ग तथा हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि बोलपत्र आह्वान गरिएको द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।द्रुत मार्ग आयोजनाको प्रमुख संरचनाका रूपमा रहेका सुरुङ मार्गहरूको निर्माण अबको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रवक्ता पौडेलले स्पष्ट पारे ।

उनका अनुसार द्रुत मार्गमा पर्ने कुल ६।०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा हाइब्रिज निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरिएको छ । पहिलो प्याकेजअन्तर्गत यस आयोजनाको सबभन्दा लामो सुरुङ मार्ग निर्माण गरिने महादेवडाँडा खण्ड हो ।

यस खण्डमा निर्माण गरिने सुरुङ मार्ग र हाइब्रिजको कुल लम्बाइ ३.३०० किलोमिटर रहेको छ । त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म १।३७० किलोमिटर र लेनडाँडाको घट्टेपाखादेखि बाँदरेखोल्सीसम्मको सुरुङमार्ग तथा हाइब्रिज निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । यस प्याकेजअन्तर्गत कुल १.४०० किलोमिटर सुरुङमार्ग र हाइब्रिज निर्माण गरिने छ ।

यसअघि सुरुङमार्ग निर्माणका लागि आह्वान गरिएको ‘प्रिक्वालिफिकेसन’का क्रममा ४३ वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएका थिए, जसमध्ये तीनवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत थिए । प्रिक्वालिफिकेसनका क्रममा सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीहरूले मात्र ठेक्काका प्रस्ताव पेस गर्न सक्ने सैनिक प्रवक्ता पौडेलले स्पष्ट पारेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot