Logo

पशुपतिनाथ मन्दिरमा जलहरी जडान सात दिनभित्रै



काठमाडौं, फागुन ९ । पशुपतिनाथ ज्योतिर्लिङ्गमुनिको जलहरीलाई सुनले मोर्ने गरी १०८ किलो सुनको जलहरी बनिरहेको छ । पाटनका कालिगढले एक सातादेखि जलहरी बनाइरहेका छन् । जलहरी बनाउने कार्य मन्दिर परिसरमा नेपाली सेनाको कडा सुरक्षाबीच भइरहेको छ ।

एक साताभित्र जलहरी जडान हुनेछ ।पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार जलहरी जडान गर्ने क्रममा शनिबार पशुपतिनाथका चारै मुहारका पुजारीले भइरहेको चाँदीको जलहरी फुकाइरहेका छन् । जलहरी र ज्योतिर्लिङ्गमा पुजारीले मात्र छुन पाउने विधान छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाका अनुसार पशुपतिनाथमा क्षमापूजा नगरी नयाँ धातु जडान कार्य गर्न नहुने भएकाले दक्षिण भारतबाट ४० जना पण्डित क्षमापूजाका लागि यहाँ आएका छन् । पण्डितहरूले शनिबारदेखि सात दिन निरन्तर क्षमापूजा गर्नेछन् ।

क्षमापूजाको एक विधि शनिबार सम्पन्न भएको छ ।१०८ केजी सुनमा तामा तीन किलो र चाँदी एक किलो मिश्रण गरिने छ । डा। खतिवडाले पञ्चधातुसहितको जलहरी बनाउनुपर्ने विधानअनुसार यी धातु मिश्रण गरिएको बताए । त्यसका लागि आवश्यक पर्ने सुन नेपाल राष्ट्र बैङ्कबाट खरिद गरिएको छ ।

जलहरीपछि पशुपति मन्दिर परिसरको बसाहा, छाना र गजुरसमेतमा सुन लेपन गर्ने योजना छ । लिच्छवि राजा सुपुष्पदेवको समयमा झिँगटीको छाना रहेको पशुपतिनाथ मन्दिरमा पछिका राजाले सुनको मोलम्बासहितको छाना छाएका हुन् । तत्कालीन राजा त्रिभुवन र महेन्द्रको पालामा मन्दिरभित्र धातुको प्रयोग हुन थालेको
इतिहास रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot