काठमाडौंं, ९ फागुन । सिभिल बैंकको दशौ वार्षिक साधारण सभा आज (आइतबार) सम्पन्न भएको छ । आज सम्पन्न भएको सभाले संचालक समितिको गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गरेको हो ।
लाभांश पारित भएसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश प्राप्त गर्न सक्ने छन् ।
सभाले आ.व. २०७७ र ०७८ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनःनियुक्त गर्नुका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने रहुने वा स्वदेशी र विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटीएम मार्फत बैंकले सेवा प्रदान गर्दै आइरहेको छ । यस अवधिमा बैंकले ७८ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरीसकेको जनाएको छ ।