Logo

फाइभजीको सम्भाव्यता अध्ययन गर्दै सरकार



काठमाडौं, फागुन १० । सरकारले देशका चार सहरमा फाइभजी सञ्चालनको व्यावसायिक सम्भाव्यताको अध्ययन गर्ने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तका अनुसार अति उच्च गतिको फाइभजीको व्यावहारिक प्रयोगका सम्भावनालाई समेत समेटेर अध्ययन गरिनेछ ।

अध्ययनको काम भने नेपाल टेलिकमले गर्नेछ । उनले काठमाडौँ, पोखरा, विराटनगर र वीरगञ्जमा यस्तो अध्ययन गर्ने सरकारको तयारी रहेको जनाए। डिजिटल नेपाल कार्यक्रमले समेटेका कतिपय उद्देश्य पूरा गर्न फाइभजी प्रविधिको समेत आवश्यकता हुने भएकाले त्यससँगै जोडेर अध्ययन हुने उनको भनाई छ ।

गत माघ २२ मा आयोजित कम्पनीको १७औँ वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्ष २०७७÷७८ भित्रै फाइभजी परीक्षणका लागि टेलिकमलाई निर्देशन दिएका छन्।

सोही कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फाइभजी सञ्चालनका लागि परीक्षण तथा अध्ययन गर्ने योजना उल्लेख गरे। त्यस्तै यसको व्यावसायिक सञ्चालनका लागि प्रारूप तयार गर्ने योजना रहेको पनि उनको भनाई छ । विश्वमा केही विकसित देशले परीक्षणका रूपमा फाइभजी सुरु गरे पनि यसको पूर्ण व्यावसायिक प्रयोग भने भइनसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्