Logo

बाँस बिक्रीबाट मनग्य आम्दानी



विराटनगर, १० फागुन । लगनशील भई काम गर्दा प्राप्त हुने आत्मसन्तुष्टि नै ठूलो हुने उदाहरण बाँस बिक्रेताबाट देखिएको छ । विराटनगर–११ केशलीया नदी सडक छेउमा विगत ३० वर्षदेखि बाँस बेच्दै आएका जुगल मण्डलले सो कुराको पुष्टि गरेका छन् । उनले मेहनत र लगनशील भएर काम गर्दा परिवारको पालनपोषण र मासिकरुपमा राम्रो आम्दानी गर्न सफल हुने बताए ।

बाँसको आवश्यकता जन्मदेखि मृत्युसम्म हुने गर्दछ । घरायसी कार्यका लागि बाँस नभई नहुने भएकाले यसको बजार विस्तृत रहेको छ । घर निर्माण, पूजापाठ, मृत्यु वा घरयासी कामका लागिसमेत बाँसबाट बनेका धेरै प्रकारका सामग्री आवश्यक पर्ने गरेको छ । त्यसैले यसको बिक्री ज्यादै हुने गरेको बाँस व्यापारीको भनाइ छ ।

बाँसबाट बनेका सामग्री नाङ्लो, घरेलु सामान राख्ने ढकी, जुत्ता राख्ने ¥याक, तराईको ठूलो चाँड छठमा आवश्यकपर्ने कुनियालगायतका सामग्री निर्माण गर्ने गरिन्छ । अहिले विभिन्न नगर क्षेत्रका रेष्टुरेण्ट, होटलमा ग्राहकलाई नयाँ सजावट देखाउन र आकर्षणका लागि कटेज र बस्ने स्थानको निर्माण हुनाले यसको बिक्रीमा आधुनिकता वृद्धि बढेको देखिन्छ । अहिले पनि ग्रामीण क्षेत्र तथा शहरमा सुत्नका लागि बाँसको खाटसमेत बनाइएको देखिन्छ ।

बाँस खरीद गर्न आफू सुनसरीको देवानगञ्ज, हरिनगरा र भुटहाको ग्रामीण क्षेत्रमा जाने गरेको मण्डलले जानकारी दिए। विगतको तुलनामा अहिले बाँस गाउँतिर नै महँङ्गो मूल्यमा खरीद गर्ने उनले जानकारी दिए । बाँस अहिले रु २३० प्रतिवटा खरीद गर्नुपर्ने र रु २८० देखि रु ३०० मूल्यसम्ममा बिक्री गरिँदै आइएको छ ।

बाँस खरीद गर्न गाउँमा जाँदा बैलगाडा लिएर जाने र त्यसमा ४० देखि ५० वटासम्म बाँस लोड गरेर ल्याउने गरेको उनले बताए । व्यापारीलाई गाउँबाट बाँस ल्याउँदा बाटो कच्ची भएकाले राति हिँड्दा विद्युत् बत्ती नहुने भएकाले धेरै समस्या हुने गरेको छ ।

वर्तमान अवस्थामा कालोपत्र बाटोको निर्माण नहुनाले गाडा चलाउन समस्या भएकाले दुःख लागेको उनको भनाई छ । बाँस खरीद गरेर ल्याइपछि सबै दिन एकैनाशको व्यापार नहुने भएकाले कहिलेकाहीँ त खरीद गरी ल्याइएको बाँस एउटा पनि बिक्री नभई सबै सुक्ने गर्दछन् । खरीद मूल्यभन्दा कममा घाटा खाएर बाँस धेरै सस्तोमा बिक्री गर्नुपर्ने समस्या रहेको उनले जानकारी दिए । ग्राहकले माग गरेमा आफूले घरघरसम्म बाँस लगिदिनेसमेत गरेको उनले बताए ।

आफ्नो पाँच जनाको परिवारको पालनपोषण यही बाँसको कारोवारले गर्दै आइरहेको र यसको व्यापारबाट महिनामा राम्रो आम्दानी भएको हुँदा पेशाप्रति सन्तुष्ट लागेको मण्डलले जानकारी गराए । रासस



प्रतिक्रिया दिनुहोस्