मैले हेरेँ
‘सानो कविताको झ्यालबाट सानो संसार ।’
साहित्यकार नरेश शाक्यको नयाँ काव्यकृति ‘सम्बोधि’ बजारमा आएको छ । प्रकृति, प्रेम, राजनीति, दर्शन आदि विषयका ४१९ वटा कविता सो कृतिमा समाविष्ट छन् । ती कविता कुनै तीन, कुनै चार र कुनै पाँच हरफका छन् । हाइकू, तान्का शैलीका छोटा यस्ता कवितामा ठूलो भाव र विचार कविले दिन खोजेका छन् ।
सम्बोधिमा समावेश भएका लघुकविता गोलढुङ्गाको पुरानो गुजेश्वरीको बसाइमा लेखिएका हुन् । उनी त्यहाँ बस्दा गम्भीर बिरामी भएर मोडेल अस्पतालमा उपचार गराएर फर्किएपछि लेखिएको काव्य हो । आकृतिप्रकृति प्रकाशक रहेको यस कृतिको भूमिकामा लेखक सहप्राध्यापक एवम् समालोचक डा हरिप्रसाद सिलवालले कृतिमा असमानताका असरल्ल अनुहारलाई कविताको कला र विचारको बाढीले बगाउँदै र पाइलापाइलामा फुत्किन खोजेका जिन्दगीका धागाहरूमा आशाका रेखाहरू कोरिएको जनाए ।
प्रस्तुत लघुकवितामा सशक्त सौन्दर्य चिन्तन झुल्केको छ । मानवलाई मानव भएर बाँच्न दिनुपर्छ अनि वर्गीय उत्पीडनको अन्त्य हुनुपर्छ भन्ने प्रगतिवादी विचारलाई कवि शाक्यले आफ्ना कवितामा आलोकित गरेका छन् । समाजमा रहेका अँध्यारा र उज्याला पक्षहरूको चिरफार गरी जीवनका वास्तविक अनुभूतिलाई सङ्ग्रहमा प्रस्तुत गरिएको उनको टिप्पणी छ ।
प्रकाशकका तर्फबाट वैरागी जेठाले कवि शाक्यको सग्लो जीवन अध्ययन गर्दा मानवहृदय पग्लने जनाएका छन् । विसं २०२२ मा बिए उत्तीर्ण कवि जागिरको शिलसिलामा पूर्वी पहाडको विकट गाउँमा पुगे । वैचारिक धरातलमा उभिनुभएका कवि राजनैतिक दृष्टिकोणले नेकपा (माले)सँग आबद्ध थिए । पार्टी सङ्गठनको क्रियाकलापमा पनि सक्रिय रहनुभएका उहाँको वामपन्थी सर्जकहरूसँग घुलमिल भइरह्यो । मानसिक रोगले ग्रस्त हुनुभएपछि पार्टीका साथीसँग उहाँको सम्बन्ध विच्छेद भयो । समकालीन साथीहरूसँग टाढा हुन पुग्नुभएका कवि शाक्यले उपचारका क्रममा धेरै दुःख भोगेका छन् । काठमाडौँ आएपछि पाटन मङ्गलबजारमा रहेको पुरानो प्राइभेट स्कूलमा शिक्षण पेशामा लाग्नुभएका उहाँ निकै बिरामी भएपछि अध्यापन गराउन छाडे ।
कविका हात गोडाहरू लुगलुग काम्छन् । कविको जीवन अवस्था हेरेर कृतिका रूप दिने र उहाँको मनको चाहनालाई उद्धार गर्ने उद्देश्यले आफूले यो कृति प्रकाशन गरिएको साहित्यकार जेठाले जानकारी दिए । कृति पढेपछि पाठकलाई नयाँ स्वाद दिने उनले जिकिर गरे।
कृतिकार शाक्यले सानासाना कविताबाट आफूले संसारलाई चियाउन खोजेको बताए। यसअघि प्रगतिशील साहित्यकार शाक्यका सात वटा कृति प्रकाशन भइसकेका छन् । सम्बोधि आठौँ कृति हो । कवि शाक्यका कवितामा दशर्न भेटिन्छन् । कवितामा उहाँ थोरै शब्दबाट धेरै मानवता बोध गराउने शक्ति प्रदर्शन गराउछँन्।
‘सूर्यले आफ्नो तप्त अधरले
वसुधालाई चुमिदियो
उसको योवनाङ्गमा
प्रेमको स्पर्श गरिदियो’ रासस