Logo

तीन दलको सहमतिको सरकार गठन गर्ने प्रचण्ड-माधव पक्षको प्रयास सुरु, कस्लाई के ?



काठमाडौं, १२ फागुन । प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले सहमतिको सरकार गठनको प्रयास सुरु गरेका छन् । उक्त समूहले हिजो नै प्रधानमन्त्री केपी शर्मा ओलीइतर समूहका नेताहरुसँग टेलिफोन संवाद गरेर सहमति र सहकार्यको राजनीतिलाई फेरि अगाडि बढाउनेबारे छलफल गरेका छन् ।

ओली सरकारको विकल्पबारे छलफल अगाडि बढिसकेको अवस्थामा प्रचण्ड र माधवकुमार नेपाल दुवैले नेपाली काँग्रेस, जनता समाजवादी पार्टिलगायतका दलहरुलाई मिलाएर प्याकेजमा सहमति गर्नेबारे छलफल बढाएको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा गर्न वाध्य पार्ने या महाभियोग सम्म लगाउने तयारी भइसकेको छ ।

राष्ट्रपति नेपाली काँग्रेसलाई, उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई, राष्ट्रियसभाको अध्यक्षमा पनि विल्प खोज्नुका साथै सरकारमा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतका मन्त्रीहरुको समेत बाँडफाँडबारे प्याकेजमा सहमति गर्ने गरी तयारी बढेको हो । विश्वस्त स्रोतका अनुसार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनेबारे छलफल हुनथालेको छ ।

देउवा प्रधानमन्त्री बन्ने सम्भावना रहेमा राष्ट्रपतिमा नेकपाको प्रचण्ड माधव नेपाल समूहले पाउने विकल्पबारे पनि कुरा बढेको छ । तीन दलको सहमतिको सरकारमा मन्त्रीहरुको भागवण्डा देखि संवैधानिक निकायमा नियुक्तिबारे समेत टुंगो लगाउने गरी अनौपचारिक कुराकानी बढिसकेको छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच गठबन्धनको सम्भावनाबारे पनि छलफल बढेको छ । ओली देउवालाई प्रधानमन्त्री बनाएर भएपनि प्रचण्ड र माधव नेपाललाई रोक्ने पक्षमा देखिएका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्