Logo

मनो-उपचार : सकारात्मकताले हटाउँछ निराशा



डा. नरेन्द्र ठगुन्ना : कोरोना सङ्क्रमणको महामारीले हाम्रो दैनिकीलाई परिवर्तन गरिदिएको छ । यस्तो अवस्थामा मानसिक स्वास्थ्यको जोखिम निकै छ । यस्तो प्रक्षेपण मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले पनि गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि यस्तो जोखिम बढ्न सक्ने बताइरहेको छ । प्राकृतिक विपद्, महामारी वा अकल्पनीय घटनापछि मानसिक स्वास्थ्यमा असर पर्ने गर्छ । यो स्वाभाविक पनि हो ।

यस्तो अवस्थामा तनावको मात्रा बढ्ने, चिन्ता (एन्जाइटी)को समस्या, डिप्रेसनको समस्या, आत्महत्याको समस्या बढ्ने, आघातजन्य घटनापछिको तनावका समस्याहरू देखिने सम्भावना उच्च छ । निन्द्रामा आइपर्ने समस्यासम्बन्धी मानसिक समस्या बढ्न सक्छ । आत्महत्याको जोखिम निकै बढी हुन सक्छ । त्यसैले अबका दिनमा मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न अप्ठेरा र जोखिम आइपर्ने निश्चितप्रायः छ ।

यस्ता सम्भावित जोखिमबाट जोगिनका लागि आम नागरिकले अपनाउन सक्ने धेरै उपाय हुन सक्छन् । यस्तो बेलामा सन्तुलित आहारलाई निकै ध्यान दिनुपर्छ । अर्को महत्त्वपूर्ण उपाय भनेको मनमा नकारात्मक कुरा नखेलाउने नै हो । अप्ठेरा, सङ्घर्ष र नराम्रा कुराका बीचमा पनि राम्रा कुरा खोज्ने गर्नुपर्छ । सकारात्मकतालाई बढाउने र नकारात्मकतालाई घटाउने गर्दा मानसिक स्वास्थ्यमा आइपर्ने सम्भावित जोखिमबाट जोगिन सकिन्छ । आफ्नै हेरचाह गर्ने र समयलाई सिर्जनात्मक बनाउन केन्द्रित गर्न सकिन्छ । सृजनशीलताले नकरात्मकतालाई हटाउँछ । आफूलाई मनपर्ने कामका लागि पनि समय छुट्याउने गर्दा सकारात्मक भावनाको विकास हुन्छ । सकारात्मकताले निराशालाई हटाउँछ । ‘यो मनको कुरा त्यो मनले बुझ्ने’ सँग कुराकानी गर्ने गर्नुपर्छ । मनमा आएका विचारलाई स्वीकार गर्दै सकारात्मकतामा ढाल्ने प्रयास गर्ने गर्‍यौँ भने मानसिक स्वास्थ्यका सम्भावित जोखिमबाट जोगिन सकिन्छ ।

जति पनि मानसिक स्वास्थ्यका समस्याबाट पीडित छन्, उनीहरूको नकारात्मक सोचको महत्त्वपूर्ण भूमिका भएको पाइन्छ । खासगरी आफूप्रति, अरुप्रति र परिस्थितिप्रति नकारात्मक हुने प्रवृत्ति भएका मान्छेहरूमा मानसिक समस्या देखिने गर्छ । त्यसैले सकारात्मक सोचको विकास गर्ने, आफूमा आएको सोचलाई स्वीकार गर्ने र महामारीसँग सम्बन्धित अनावश्यक समाचारबाट टाढा रहने गर्दा मानसिक स्वास्थ्य राम्रो हुन्छ । पटकपटक मानिस मरेका, समस्या भएका समाचार पढिरहँदा, सुनिरहँदा र हेरिरहँदा मानसिक स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सूचना तथा समाचारका लागि निश्चित समय छुट्याएर सूचना लिने गर्नुपर्छ । सामाजिक सञ्जालमा निकै अभ्यस्त हुँदा पनि त्यस्ता खबर आइरहने हुँदा समस्या थपिन सक्छ । यस्ता क्रियाकलापबाट पनि जोगिनुपर्छ ।

सामान्यतः कुनै पनि घटनापछि घटनाबाट प्रभावित भएका व्यक्तिहरूमध्ये ८–१० प्रतिशत व्यक्तिहरूमा आघातजन्य घटनापछिको तनाव हुने गर्छ भनेर पश्चिमाहरूले गरेको अध्ययनमा भनिएको छ । तर, भूकम्पपछि हाम्रोमा गरिएका अध्ययनले आघातजन्य घटनापछिको तनाव ४–५ प्रतिशत मात्रै भएको पाइन्छ । यद्यपि निकै ठूलाठूला अध्ययन भने भएका छैनन् । हाम्रोमा सामाजिक र सांस्कृतिक संयन्त्रले काम गरेको हुन्छ । दुःख पर्दा अरुलाई सहयोग गर्ने हाम्रो सामाजिक मान्यताले मानसिक स्वास्थ्यको जटिल अवस्थामा जानबाट रोक्छ । धार्मिक आस्था अनुसारका पूजापाठ र भजनकीर्तनले पनि मानसिक स्वास्थ्यमा सहयोग गरिरहेको हुन्छ । यसले गर्दा नकारात्मक विचार वृद्धिमा कमी आउने हुनाले अन्यत्रको तुलनामा नेपालमा मानसिक स्वास्थ्यका पीडितको दर कम नै पाइन्छ ।

त्यसो त परिस्थितिपछि पूर्व अवस्था ग्रहण गर्न सक्ने क्षमता हुनेलाई मानसिक समस्या कम हुन्छ । महामारीकै सन्दर्भमा कुरा गर्दा मलाई मात्रै भएको होइन, सबैलाई हो भनेर स्वीकार गर्न सक्नेलाई यस्तो समस्या कम हुन्छ । परिस्थितिलाई बुझ्ने भनेको यही हो । हाम्रो कनेक्टिभिटी सोसाइटी भएकाले गर्दा आफ्नो र समाजको दुःखसुख सँगसँगै साटासाट गर्ने भएका कारणले गर्दा अरु व्यक्तिसँगको सम्बन्ध, सामाजिक सम्बन्ध तुलनात्मक बलियो छ । आफ्नो समस्या अरुलाई पनि सुनाउँछौँ । यसले मन हल्का हुन्छ । मन शान्त हुन्छ । त्यसैले पनि परिस्थितिलाई बुझ्ने मानिसमा मानसिक समस्या कम हुने गर्छ ।

मनोविद् डा. ठगुन्ना द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष हुन् ।



प्रतिक्रिया दिनुहोस्