Logo

प्रधानमन्त्रीको दौडमा को को ?



काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि देश फेरि नयाँ मोडमा पुगेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली आफूले प्रतिनिधि सभा विघटन गर्न चालेको कदम असंवैधानिक ठहर भएपछि नैतिक संकटमा परेका छन् । तर, उनले राजीनामा नदिई संसदको सामना गर्ने सन्देश दिइसकेका छन् ।

अब ओलीले अविश्वासको प्रस्ताव सामना गर्ने निश्चितप्रायः छ । विश्वासको मत लिन ओली असफल हुने अवस्था विद्यमान रहेकाले प्रधानमन्त्रीको दौड सुरु भएको छ ।

प्रधानमन्त्रीका लागि नेपाल कम्युनिस्ट पार्टीका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल मुख्य दाबेदार देखिएका छन् । प्रचण्ड अहिलेको अवस्थामा आफ्नो समूहको संसदीय दलका नेता पनि छन् । यसकारण पनि उनी प्रधानमन्त्रीका मुख्य दाबेदार हुन् । प्रचण्डले माधव नेपालको साथ पाउनुपर्छ । अर्कोतर्फ, काँग्रेस र जनता समाजवादी पार्टीको पनि साथ हुनुपर्छ ।

माधवकुमार नेपाल पनि प्रधानमन्त्रीको दौडमा छन् । उनी प्रधानमन्त्री ओलीसँग लामो समययता जुध्दै आएका थिए । नेपाललाई प्रचण्डले साथ दिनुपर्ने अवस्था भएमा प्रधानमन्त्रीको बलियो दाबेदार हुन्छन् । यतिले मात्र पुग्दैन । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको साथ हुनुपर्छ ।

प्रधानमन्त्रीको दौडमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि छन् । देउवालाई प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा साथ दिएमा प्रधानमन्त्रीको प्रस्ताव प्रचण्ड र नेपालले विगतमै गरेका थिए । तर, देउवाको भुमिका स्पष्ट देखिएको थिएन । तैपनि, प्रचण्ड र नेपालको साथमा प्रधानमन्त्री बन्ने दौडमा देउवा पनि छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको समेत साथ हुनसक्छ । प्रचण्ड र नेपाललाई रोकेर देउवासँग गठबन्धन गर्ने ओलीको रणनीति बनेको बुझिएको छ । तर, ओलीसँग मिल्न देउवालाई सजिलो छैन । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल ओलीसँग समिकरण बनाउन नहुने पक्षमा उभिदै आएका छन् ।

जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्रीको दौडमा छन् । नेकपाको दुवै समूह र नेपाली काँग्रेसबीच प्रधानमन्त्रीका लागि हानथाप भएमा ठाकुर र भट्टराईको सम्भावना बढ्न सक्छ । ठाकुरको नाममा काँग्रेस पनि सकारात्मक बन्न सक्छ । तर, नेकपा र काँग्रेस दुवै आफ्नै दलबाट प्रधानमन्त्रीको दाबी गर्ने अवस्थामा छन् ।

नेताहरुबीच प्रधानमन्त्रीका लागि तिव्र प्रतिष्पर्धाले ओलीलाई नै मौका आउने सम्भावना नभएको होइन । उनले राजीनामा दिएमा या अविश्वासको प्रस्ताव पारित भएमा पनि फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहि नै रहन्छ । अर्कोतर्फ, उनी अर्को प्रधानमन्त्री नबनेसम्म पदमै रहिरहने हुँदा तत्काल नहट्ने अवस्था पनि रहन्छ । ओलीले देउवाको साथ लिएर प्रधानमन्त्री बन्ने प्रयास गर्न सक्छन् । तर, त्यो सम्भावना कमजोर हुन्छ ।



प्रतिक्रिया दिनुहोस्