ताप्लेजुङ, १२ फागुन । मा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन सकेकाले दिन प्रतिदिन अलैँची कृषक निरास हुँदै गएको छ । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन नसकेको फक्ताङलुङ गाउँपालिका–६ का अलैँची कृषक सन्तकुमार फेम्बुले बताए ।
शुरुमा राम्रो आम्दानी भएपछि खेतीप्रति उत्साहित बनेका किसान अहिले उत्पादित अलैँचीबाट उचित मूल्य नपाउँदा भने निरास भएको अलैँची कृषक सन्तकुमार फेम्बुले बताए । आजभन्दा छ÷सात वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न हौसिएका किसानले अलैँची उत्पादन वृद्धि हुँदै गए पनि केही वर्षयता भनेजस्तो मूल्य नपाउँदा अलैँची उत्पादक किसानमा निरासा हुन थालेको मेरिङदेन गाउँपालिका–७ निवासी अलैँची कृषक विमना लिम्बूले बताए।
पछिल्लो केही वर्षयता सोचेजस्तो मूल्य नआएका कारण फाइदा लिन नसकेका किसानले यस वर्ष पनि उत्पादन वृद्धि भएको तर अलैँचीको मूल्य भने वृद्धि नभएकाले किसान मारमा परेका छन् । यो वर्ष ताप्लेजुङमा दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।
जिल्लामा गत वर्षभन्दा यस वर्ष १० देखि १५ प्रतिशतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर बिष्टले बताए । जिल्लामा अलैँची खेती गरिएको कूल चार हजार ३०२ हेक्टर क्षेत्रफलमध्ये चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट नियमित उत्पादन भइरहेको बिष्टले बताए । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएको बिष्टले बताएका छन् ।
यता हालको बजार मूल्यअनुसार अलैँची खेती तथा उत्पादनका लागि गरिएको लगानी र श्रम नउठ्नै समस्या भएको फक्ताङलुङ गाउँपालिका–६ निवासी विर्ख लिम्बूले बताए । सिरिजङ्घा गाउँपालिका–७ खेबाङका किसान ज्ञानु लिम्बूले अहिलेको बजार मूल्यले अलैँचीमा भएको लगानी नधान्ने बताए। शुरुमा अलैँचीको राम्रो मूल्य आएपछि सोहीअनुसार श्रमिकको मूल्य बढेको तर अहिले मूल्य घट्दा श्रमिकको श्रम मूल्य भने नघटेकाले हालको अलैँचीको बजार मूल्यले लगानी नधान्ने लिम्बूको भनाइ छ ।
केही वर्षयता अलैँचीको सोचेजस्तो मूल्य नआउँदा किसानलाई खेती छोड्ने कि सम्हाल्ने भन्नेमा दोधारमा पु¥याएको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका किसान बुद्ध दाहालले बताए। शुरुमा राम्रो मूल्य आएपछि अन्न उत्पादन हुने खेतीयोग्य जमीनसमेत मासेर अलैँची खेती शुरु गरेका किसानलाई पछिल्लो समय मूल्य आउन छोडेकाले चिन्तित बनाएको दाहालले बताए । उनका अनुसार अलैँचीले मूल्य पाउने आसै–आसमा किसानले केही वर्षयता समय बिताउनुपरेको छ । रासस