काठमाडौं, १२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाएका छन् । होईन भने संसदमा बहुमत सिद्ध गर्न पनि आग्रह गरेका छन् । बुधबार महेन्द्रनारायण निधिको ९९औं जन्मजयन्तीका अवसरमा काठमाडौंको अनुपम फुडल्याण्डमा आयोजित विचार गोष्ठीमा बोल्दै देवाले यस्तो बताएका हुन् ।
उनले भने,‘ओलीजीले राजीनामा दिनुहुन्छ जस्तो लाग्दैन, तर कि बहुमतसिद्ध गर्नुपर्यो, कि छाड्नुपर्यो । योभन्दा विकल्प छैन ।’ उनले संसद पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरे । त्यस्तै, देउवाले आफूहरुले नेकपा फुटोस भनेर नचाहेको पनि स्पष्ट पारे ।
उपसभापति विमलेन्द्र निधिले भने प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने धारणा राखेका छन् । निधिले भने, ‘प्रधानमन्त्रीमा नैतिकता छ भने पदमा बसिरहन मिल्दैन। तत्काल राजीनामा गर्नुपर्छ।’ सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएकोले प्रधानमन्त्री ओली नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्न नमिल्ने निधिको भनाइ छ। File Photo/ReportersNepal