Logo

देउवासँग दाहाल–नेपालको प्रस्तावः नयाँ सरकारमा सहकार्य गरौं



काठमाडौं, फागुन १३ । संसद्मा झन्डै दुईतिहाइ बहुमतनजिक रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि नयाँ सरकार कसरी बन्छ र चल्छ भन्ने अन्योल कायमै रहेका बेला दाहाल–नेपाल समूहले सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेको छ । नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकारमा सहकार्य गर्न कांग्रेस सभापति देउवासँग प्रस्ताव गरेको हो ।

चितवनमा बुधबार हुने भनिएको सभालाई सम्बोधन नगरी काठमाडौं आएका नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल देउवालाई भेट्न बुढानीलकण्ठस्थित उनको निवास पुगेका थिए । त्यहाँ दाहाल–नेपालले सरकारमा सहकार्यका लागि प्रस्ताव राखेका थिए । ‘प्रतिगमनविरुद्धको आन्दोलनमा जसरी हामी सबै दलसँग सल्लाह गरी अघि बढेका थियौं, अब बन्ने सरकारका लागि पनि त्यसरी नै अघि बढ्नेछौं, यसमा धोका हुँदैन, सहकार्य गरौं’, दाहाल–नेपाललाई उद्धृत गर्दैै स्रोतले भन्यो ।

दाहाल र नेपालले देउवालाई भटेपछि बसेको सो समूहको संसदीय दल बैठकमा पनि प्रतिगमनविरुद्धको आन्दोलनमा जसरी अन्य दलसँग सहकार्य, सहमति भयो, त्यसरी नै नयाँ सरकार बनाउन पनि सहकार्य र सहमति हुने जानकारी गराएका थिए । ‘यो लडाइँ सरकार बनाउनेभन्दा पनि प्रतिगमनविरुद्धको हो, ओलीको व्यक्तिगत विरोध पनि होइन, ओली प्रवृत्तिविरुद्धको लडाइँ हो, त्यसकारण संविधानको रक्षा गर्ने लडाइँ भएकाले यसमा सबैको जित भयो र आगामी दिनमा पनि अन्य दलसँग सहकार्य गरी अगाडि बढ्नेछौं’, अध्यक्ष नेपाललाई उद्धृत गर्दै सांसद झपट रावलले भने ।

रावलका अनुसार संसदीय दलको बैठकमा अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालले पनि अन्य दलसँगको छलफल र सहकार्यबाटै अघि बढ्ने जानकारी गराएका थिए । उनीहरूले मूलतः नयाँ सरकार बनाउन ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने, राजीनामा नदिए संविधानअनुसार संसदीय प्रक्रियाबाट अघि बढ्ने बताएका थिए । रावलका अनुसार संसदीय दलको बैठकमा राष्ट्रियसभासहित १ सय १५ सांसदको उपस्थिति थियो । समय छोटो भएकाले केही सांसद आउन नसकेको रावलले बताए ।

संसदीय दलको बैठक बस्नुअघि दाहाल–नेपाल समूहले काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको अनौपचारिक बैठक राखेको थियो । सो बैठकले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको ठहर गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने र नदिए संविधानअनुसार संसदीय प्रक्रियाबाट अघि बढ्ने निर्णय गरेको थियो । स्थायी कमिटी सदस्यहरूको अनौपचारिक बैठकले अहिलेको अवस्थामा ओलीसँग सहकार्य पनि गर्न नहुने निष्कर्ष निकालेको छ । ओली आत्मालोचनासहित रूपान्तरण नभएसम्म उनीसँग सहकार्य नहुने निष्कर्ष बैठकले निकालेको हो । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्