काठमाडौं, फागुन १४ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको क्षेत्रगत कुल कर्जाको सबैभन्दा बढी अंश थोक तथा खुद्रा विक्रेतातर्फ प्रवाहित भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुससम्ममा कुल क्षेत्रगत कर्जा ३६ खर्ब ५८ अर्ब रुपैयाँमध्ये थोक तथा खुद्रा विक्रेतातर्फ मात्रै ७ खर्ब २५ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । यो कुल क्षेत्रगत कर्जाको २० प्रतिशत अंश हो ।
चालू आवको पुससम्ममा कुल कर्जाको दोस्रो बढी अंश कृषि, वन र पेय पदार्थसम्बन्धी उत्पादनमा देखिएको छ । कुल कर्जाको १७ प्रतिशत अंश यस्तो कर्जाले ओगटेको छ । यसमा पुससम्ममा ६ खर्ब ३ अर्ब रुपैयाँ प्रवाह भएको छ । यस्तो कर्जा गतवर्षको तुलनामा १० दशमलव ३४ प्रतिशत विन्दुले बढी हो । गतवर्ष यस्तो कर्जा ५ खर्ब ४७ अर्ब रुपैयाँसम्म प्रवाह भएको थियो ।
राष्ट्र बैंकको तथ्यांकले कृषिअन्तर्गतका फरक प्रकृतिका शीर्षकलाई छुट्टाछुट्टै उल्लेख गरेकाले कृषिको अंश कम देखिएको हो । कृषि तथा वन पैदावार, माछा पालन र कृषि वन र पेय पदार्थ प्रशोधनपछिको उत्पादनलाई एकैसाथ जोड्ने हो भने कृषि शीर्षकमा प्रवाह भएको कर्जाको अंश बढी देखिन्छ । यद्यपि कुल कर्जामा थोक तथा खुद्रा विक्रेताको अंश धेरै देखिए पनि कर्जा वृद्धिदरमा भने कृषि र वनपैदावरमा बढी भएको तथ्यांकमा उल्लेख छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको ६ महीनामा कृषि र वन पैदावारमा भएको कर्जा प्रवाह गतवर्षको सोही अवधिको तुलनामा २८ दशमलव ४५ प्रतिशत विन्दुले बढेको छ । चालू आवको ६ महीनामा उक्त शीर्षकको कर्जा रू। २ खर्ब ३१ अर्ब रुपैयाँ हुँदा गत आव रू। १ खर्ब ८० अर्ब रुपैयाँ भएको थियो ।
आर्थिक अभियान दैनिकबाट