काठमाडौं, फागुन १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनको विषयमा नेकपाको विभाजित धारणा प्रस्ट भएपछि थप रणनीति बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । कानुनीरुपमा नेकपा अहिले पनि एउटै पार्टी रहेको निष्कर्ष निकाल्दै कांग्रेसले तत्काल दुवै समूहसँग सहकार्य हुन नसक्ने निर्णय गरेको हो ।
संसद् पुनःस्थापनाबाट विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले नेकपाको वैधानिक विभाजनको प्रतीक्षा गर्ने निष्कर्ष निकालेको हो ।
पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले संसद् बैठकपछि उत्पन्न हुने परिस्थितिअनुसार पार्टीले निर्णय लिने सर्वसम्मत निष्कर्ष निकालेको बताए । उनले नेपाल भने– ‘कानुनीरुपमा नेकपा एउटै पार्टी छ, पहिलो उहाँहरुको धारणा स्पष्ट हुन जरुरी छ, त्यसपछि मात्र सहकार्य गर्न सकिने विषयमा छलफल गर्न सकिन्छ ।
’ तत्काल नयाँ सरकार गठन गर्ने विषयमा पार्टीले कुनै पनि निर्णय नगरेको बताउँदै नेकपाको दुई समूहको विवाद अहिले चलिरहेको अवस्थामा यो समूहलाई समर्थन गर्ने भन्ने विषयमा जान नसकिने उनले भने ।
बैठकमा सभापति देउवालाई नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको महतले जानकारी दिए । बैठकले व्यक्तिव्यक्तिभन्दा पनि पार्टीसँग सहकार्य गर्ने निष्कर्ष निकाल्दै अहिले नेकपा एउटै छ, दुई ढंगले प्रस्ट भएर आएपछि सहकार्यबारे सोच्ने सकिने बताएको छ । नेपाल समाचारपत्र दैनिकबाट