Logo

यसरी हुनसक्छ नेकपा एमाले र माओवादी केन्द्रको पुनर्जन्म



काठमाडौं, १४ फागुन । सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी हुँदै छ । बिहिबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाईपछि निर्णय सुनाउने मिति समेत तोकिएको छ । त्यसउपर २० फागुनमा फैसला गर्ने तय भएको छ ।

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी पहिल्यै दर्तामा रहँदा नेपाल कम्युनिस्ट पार्टी नेकपा नाममा पार्टी दर्ता गराएको थियो । केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपा दर्ताप्रति ऋषि कट्टेलले गम्भीर आपत्ति जनाए । आयोगमा उजुरी पनि गरे । तर, निर्णय ओली र दाहालको पक्षमा गयो ।

ऋषि कट्टेलका कारण एमाले र माओवादी केन्द्र फेरि जन्मनसक्ने

त्यसपछि ऋषि कट्टेल सर्वोच्च अदालतमा निर्वाचन आयोगविरुद्ध रिट दर्ता गर्न पुगे । लामो समयपछि रिटमाथि पेशी चढेर सुनुवाई भयो । अब अन्तिम फैसला आगामी हप्ता आउने निश्चितप्रायः छ ।

फैसला ओली र दाहाल नेतृत्वको नेकपाको पक्षमा गएमा वैधानिक रुपमा एकता कायमै हुने अवस्था अझै रहन्छ । तर, ऋषि कट्टेलको पक्षमा फैसला भएमा परिस्थित फरक हुनसक्छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा एकीकरण पूर्वको अवस्थामा रहन सक्छ । त्यतिबेला ओली नेतृत्वको नेकपा एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबीच एकता भएको थियो ।

एमाले र माओवादी केन्द्र पुनः ब्युँतिने अवस्था अदालतको फैसलाले निर्माण गर्न सक्छ । त्यो फैसलामा भर पर्छ । एमालेको सुर्य चिन्ह र माओवादी केन्द्रको गोलाकारभित्र हसियाँ हथौडा चुनाव चिन्ह थियो । दुवै दलका सांसदहरु सोही चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए । नेकपा नामको दल अघि नै दर्ता हुँदा ओली र दाहाल नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता गर्नु कानुनविपरित ठहर भएमा पुरानै अवस्थामा पुग्न सक्छ । त्यो भनेको एमाले र माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु जुन दलबाट चुनाव जितेर आएको हो त्यतै फर्कनुपर्ने हुनसक्छ ।

हुनत निर्वाचन आयोगले अर्को नाम लिएर पार्टी दर्ता गर्न आउन पनि भन्न सक्ला । तर, एमाले ब्युँताउने प्रयास भएमा परिस्थिति अर्को हुनसक्छ । त्यतिबेला सुर्य चिन्ह लिएर चुनाव लड्नेहरु एमालेमा फर्कन वाध्य हुनसक्छन् । गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हबाट निर्वाचितहरुको हालत पनि त्यस्तै हुनसक्छ । यसले राजनीतिलाई फेरि नयाँ मोड दिनसक्छ । यसकारण पनि ऋषि कट्टेलले दायर गरेको मुद्दा चासोमा परेको छ ।

३ जेठ २०७५ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बनेको थियो । तर, ऋषि कट्टेल अध्यक्ष रहेको सोही नामको दल निर्वाचन आयोगमा यसअघि नै दर्ता थियो ।

निर्वाचन आयोगमा उनले ओली र प्रचण्ड अध्यक्ष रहेको दल दर्ता खारेज गर्न माग गरेपनि उजुरी खारेज भएको थियो । तयसपछि ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता खारेज माग गर्दै कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च अदालत गएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot