काठमाडौं, १४ फागुन । आज मन्त्रिपरिषद बैठक बस्दैछ । साँझ ५ बजे बस्ने बैठकले संसद बैठक आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्न सक्ने बुझिएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेर १३ दिनभित्र बैठक डाक्न समेत भनेको छ । ११ फागुनमा फैसला भएको ४ दिन भइसकेकाले अबको ९ दिनभित्र संसद बैठक डाक्नुपर्ने हुन्छ ।
बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए । उनले प्रतिनिधि सभा पुनःस्थापनको अदालतको फैसलापछि पहिलोपटक भण्डारीसँग शितलनिवास पुगेर छलफल गरेका हुन् ।
राष्ट्रपतिसँगको भेटमा पनि ओलीले प्रतिनिधि सभा बैठक आव्हान गर्नेबारे छलफल गरेको बुझिएको छ । प्रधानमन्त्री ओली आफूले चालेको कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि राजीनामाको दबाबमा छन् । तर, उनले संसदको सामना गर्ने बताएर राजीनामा नदिने स्पष्ट पारिसकेका छन् ।-फाइल तस्बिर