काठमाडौं, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । हिजोमात्रै नेता गौतमले नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । गौतम नेकपा एक ढिक्का भएर अघि बढ्नुपर्नेमा छन् ।
उनले हिजो दाहालसँगको भेटमा ओलीलाई राजीनामा दिन लगाउने र नेकपाकै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका थिए । गौतमले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताईसकेका छन् । प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेताहरुको दौडधुप बढेको छ ।
गौतम त झनै एकता अभियान चलाएर बसेका नेता हुन् । उनले पार्टी एकतालाई जोगाउँदै अघि बढ्नुपर्ने धारणा राखेका छन् । त्यसको लागि ओलीको सम्मानजनक बहिर्गमन र दाहाललाई प्रधानमन्त्री बनाउनसकिने उनको प्रस्ताव छ ।