काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अहिलेको राजनीतिक निकास कांग्रेसले मात्र दिन सक्ने बताएका छन् । नेपाल शिक्षक संघ रामेछापको आयोजनामा रामेछापमा भएको कार्यक्रममा बोल्दै उनले कांग्रेस अहिले सत्ताबाहिरै बसेर राजनीतिक निकासको पहल गर्ने बताए ।
अब कांग्रेसको अर्जुनदृष्टि निर्वाचन हुनुपर्ने उनको भनाइ छ । अहिले कांग्रेस सत्तामा गयो भने ठूलो मूल्य चुकाउनुपर्ने उल्लेख गर्दै पौडेलले कांग्रेसले अबको सवा वर्ष जनताको माझमा बिताउनुपर्ने बताए । आगामी निर्वाचनमा स्पष्ट दृष्टिकोण लिएर कांग्रेस जनतामाझ गएमा कांग्रेसलाई कसैले हराउन नसक्ने र बहुमतका साथ पाँच वर्षका लागि सरकारमा जाने उनले बताए ।
कांग्रेस लोकतन्त्रवादी पार्टी भएका कारण देशका अधिकांश बुद्धिजीवीले कांग्रेसलाई रोजेको पौडेलले बताए । तर, कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्री केपी ओलीलाई असंवैधानिक भन्दै गर्दा हामीले विधानअनुसार अधिवेशन गर्न नसकेको कुरा त मानिसहरुले ‘नोटिस’ गरिरहेका होलान् नि १’ त्यसैले अबको ६ महिनामा कांग्रेसले अधिवेशन गर्नुपर्ने नेता पौडेलको भनाइ छ ।
विगतमा कांग्रेसको नेतृत्व नहुँदा देशले समयमा संविधान नपाएको, तर कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएपछि संविधान घोषणा भएको स्मरण गरे । पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस विजयी भएको भए दोस्रो संविधानसभाको आवश्यकता नै नपर्ने उनको दाबी थियो ।