काठमाडौं, फागुन १७ । कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको ‘भ्याक्सिन पासपोर्ट’ को व्यवस्था समग्र विश्वले अवलम्बन गर्ला रु खोप लगाएका र नलगाएकालाई पहिचान गर्ने विधि र हेर्ने दृष्टिकोण के होला? खोपलाई स्वेच्छाको विषय मात्र बनाउँदा यसले महामारी नियन्त्रणलाई के प्रभाव पार्ला भन्नेमा नेपालमा मात्र होइन, विश्वभरि चासो छ।
नेपालमा खोप लगाइसकेपछि खोप सर्टिफिकेट दिने भनिएको छ तर अन्यत्र जस्तो खोप लगाएका व्यक्तिको जानकारीसहितको मोबाइल एपको विकास गरिएको छैन। नेपालमा पहिलो चरणअन्तर्गत ४ लाख ३० जनाले खोप लगाएका छन्।
अन्तर्राष्ट्रिय रूपमा सर्वमान्य विधि तथा मापदण्ड नभए पनि केही देशले कोरोनाविरुद्ध खोप लगाएको प्रमाणपत्रको तयारी गरिसकेका छन्। डेनमार्क र स्विडेन भ्याक्सिन पासपोर्टको रूपमा चिनिने डिजिटल भ्याक्सिन सर्टिफिकेट प्रणाली सुरु गर्न अन्तिम तयारीमा छन्। खोप लगाएको प्रमाण आवश्यक हुने देशमा यात्रा गर्दा तथा स्वदेशमै यात्रा गर्दा यो प्रमाणपत्र उपलब्ध गराइनेछ।
हवाई यात्राको पुनर्सुरुवात र राष्ट्रिय अर्थतन्त्रलाई पुनरुत्थान गर्ने यो अभियानअन्तर्गत फेब्रुअरीको अन्त्यसम्म अनलाइन दर्ता सुरु भइसक्ने र जुन महिनासम्म समग्र प्रणाली सञ्चालनमा आइसक्ने डेनमार्कका कार्यवाहक अर्थमन्त्री मोर्टेन बोड्सकोभले केही साताअघि लजएन्जलस टाइम्सलाई बताएका थिए। ‘आगामी तीनचार महिनामा एक डिजिटल कोरोना पासपोर्ट प्रयोगका लागि तयार हुनेछ।
यो सुरुमा बिजनेस ट्राभलका लागि प्रयोग गरिनेछ,’ फेब्रुअरी पहिलो साता आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए। उनले फोन एपजस्तै हुने यसमा सम्बन्धित व्यक्तिले खोप लगाएको अथवा नलगाएको, परीक्षण भएनभएको एवं परीक्षण नतिजा तथा कोभिड–१९ संक्रमण भएनभएको भन्ने सूचना समावेश गरिने बताएका थिए। ‘हामी यस्तो व्यवस्था गर्नेमा विश्वमा पहिलो राष्ट्र हुन चाहन्छौं। यो अन्य मुलुकका लागि उदाहरण हुन सक्छ,’ उनले भनेका थिए।
यसैगरी स्विडेनले पनि डिजिटल भ्याक्सिन सर्टिफिकेटको तयारी गरेको छ। यो दौडमा युरोपका अन्य देश साइप्रस, इस्टोनिया, ग्रिस, हंगेरी, आइसल्यान्ड, इटाली, पोर्चुगल, स्लोभाकिया तथा स्पेन पनि छन्।
छिमेकी मुलुक भारतले कोरोना खोप प्रयोजनका लागि एक मोबाइल एप सञ्चालनमा ल्याएको छ। पाँच विभिन्न मोडल समावेश गरिएको उक्त ‘को–विन’ नामक एपले दुई डोज खोप लगाइसकेपछि ‘क्युआर कोडमा आधारित प्रमाणपत्र’ समेत तयार गर्नेछ। उक्त एप भारतमा यसअघि उपलब्ध रहेको ई–भिन (इलेक्ट्रोनिक्स भ्याक्सिन इन्टलिजेन्स नेटवर्क) अद्यावधिक गरिएको भर्सन रहेको र उक्त एपलाई इन्टरनेटबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।नागरिक दैनिक