Logo

धरौटी तिराउन अपहरण



विराटनगर, फागुन १७ । राजस्व अनुसन्धान कार्यालय इटहरी (सुनसरी) को टोलीले असार २९ गते ना६ ख ८३१२ नम्बरको ट्रक नियन्त्रणमा लियो। कपडा ओसारपसारमा नक्कली बिलविजक प्रयोग गरेको भेटियो। त्यसपछि विराटनगर–१८ खोक्साका २३ वर्षीय सुभाष कामत पक्राउ परे।

अनुसन्धान गर्दै जाँदा विराटनगर–६ का ५८ वर्षीय दीपक शर्मा, उनकी पत्नी ५६ वर्षीया मञ्जु शर्मा र छोरी २८ वर्षीया रीमा पासवानसमेत संलग्न भेटिएको कार्यालय प्रमुख दीपक खड्काले बताए। मञ्जु कात्तिक १७ गते पक्राउ परिन् भने दीपक र रीमा फरार बने।

राजस्व अनुसन्धानले पक्राउ दुईसहित चार जनाविरुद्ध उच्च अदालत विराटनगरमा मंसिर १८ गते राजस्व चुहावटको मुद्दा चलायो। अदालतले १०र१० लाख धरौटी लिएर छाड्न आदेश दियो। धरौटी बुझाएर सुभाष छुटे, मञ्जु भने उक्त रकम नतिरेपछि जेलमा पुगिन्।

उनै सुभाष शनिबार दिउँसो विराटनगरबाट अपहरणमा परे। मञ्जुलाई छुटाउन उनका पतिसहितको समूहले सुभाषलाई दबाब दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। तर, सुभाषले १० लाख तिरिदिने आफ्नो हैसियत नभएको बताएका थिए।

पाँच जनाको समूहले सुभाषको अपहरण गर्ने योजना बनाएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। उनका अनुसार उक्त योजना मञ्जुका पति दीपक, विराटनगर–१६ दरैयाका २० वर्षीय रोहित पण्डित, ३२ वर्षीय सिकेन्द्र यादव, २१ वर्षीय अजय यादव र विराटनगर–६ रामपुरकी २८ वर्षीया सन्ध्या शर्माले बनाएका हुन्। योजनाअनुसार शनिबार दिउँसो १स्३० बजेतिर घर छेउबाटै सुभाषको अपहरण भएको एसपी खड्काले बताए।

मोटरसाइकलसहित अपहृतलाई सन्ध्याको घरमा पुर्‍याएर बन्धक बनाइयो। पीडितमाथि कुटपिट गर्दै परिवारका सदस्यसँग बार्गेनिङ गर्न थालेको खुलेको खड्काले बताए। सुरुमा सुभाषका भाइ विकास कामतलाई फिरौती माग गर्दै फोन गएको थियो। विकासले घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्