काठमाडौं, फागुन १८ । सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ।
कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक एवं वरिष्ठ खोपविज्ञ डा श्यामराज उप्रेतीले कोभिसिल्ड खोप ७१ प्रतिशत मात्र प्रभावकारी भएको जानकारी दिए। उनले भने, ‘सय जनाले खोप लगाएमध्ये झण्डै ३० प्रतिशतलाई कोरोना संक्रमण हुने सम्भावना हुन्छ। खोप लगाए पनि सुरक्षा मापदण्ड पालना गर्नुपर्छ।’
कोभिसिल्ड खोपको पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने डा उप्रेतीले बताए। उनले भने, ‘दुई डोज लगाएपछि खोपको प्रभावकारिता लामो समयसम्म हुन्छ । कति लामो समयसम्म प्रभावकारि हुन्छ भन्नेबारे अध्ययन भइरहेको छ।’
भारतले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप हालसम्म ४ लाखभन्दा बढीले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो खोप कम्तीमा ८ हप्ताको फरकमा दुई मात्रा लगाउनुपर्ने विज्ञहरूको सुझाव छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट