Logo

प्रदेश नं १ सरकारको पर्यटक भित्र्याउने योजना



विराटनगर, १८ फागुन । आवश्यक प्रचार र पूर्वाधारको कमीका कारण प्रदेश नं १ का कैयौँ सम्भावना भएका पर्यटकीय एवं धार्मिकस्थल पनि छायाँमा परेकाले अब त्यसो हुन नदिन प्रदेश नं १ सरकारले योजना बनाएको छ । यस प्रदेशका पर्यटकीय सम्भावना बोकेका स्थानहरुको संरक्षण एवं प्रवद्र्धन गर्न सरकारले एव वर्षअघि १०० वटा नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरेको थियो । यतिखेर देशमा कोरोना महामारीको कहर घटेको देखिएकाले प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएको हो ।

प्रदेश नं १ का केही पर्यटकीयस्थलमा सोलुखुम्बुको गोक्यो ताल, इलामको माईपोखरी र सुनसरीको कोशी टप्पु आरक्षण क्षेत्रसहित १३ वटा स्थान परेका छन् । हुन त यस प्रदेशमा धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका अरू धेरै स्थान छन् तर सरकारले यी स्थानलाई पनि प्राथमिकतामा नै राखेर बिस्तारै अन्य स्थानको खोजी गरी विकास गर्ने लक्ष्य लिएको छ ।

नेपाल सरकारले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट गरिएका सिफारिसका आधारमा यी गन्तव्य स्थानको छनोट गरेको हो । नयाँ पर्यटकीय गन्तव्यका लागि छ सयभन्दा बढी स्थान प्रस्तावित भएकामा तीमध्ये कुन गन्तव्यलाई १०० वटाभित्र समेट्ने र तिनलाई कसरी प्रवद्र्धन गर्ने भन्ने बारेमा विभिन्न आधार तय गरिएको थियो ।

मन्त्रालयका अनुसार नयाँ छनोट भएका पर्यटकीय गन्तव्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयवासीको पनि सहयोगमा पर्यटनको पूर्वाधार निर्माण गरी घुम्न योग्य बनाइने छ । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तव्यलाई अब विशेषरुपमा विकास गर्ने तथा प्रचार गरेर संरक्षण गरिने सरकारको नीति छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्ने गरी नयाँ गन्तव्यको प्रवद्र्धन गर्ने योजना बनाइएको थियो तर कोभिड–१९ का कारण नेपाल भ्रमण वर्ष सफल भएन । तर अब भने यी गन्तव्यहरुको राम्रो नीति तथा योजनाका साथ संरक्षण एवं प्रचारप्रसार गर्ने योजनामा प्रदेश सरकार रहेको देखिन्छ ।

यी पर्यटकीय गन्तव्यको विकासमा प्रदेश नं १ सरकारले निर्णय गरेकै वर्षबाट बजेट पनि निकासा गरिरहेको छ । यसका लागि सरकारले नयाँ गन्तव्य प्रवद्र्धन गर्न रु ५० करोड विनियोजन गरेको थियो । अहिले सरकारले पर्यटन पूर्वाधार तथा पर्यटकीय उपजको उत्पादन र विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देशभरबाट २०० वटा गन्तव्यस्थल छानिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाहरुको समन्वयमा विभिन्न परियोजना र आयोजनाहरु छनोट भएका हुन् ।

मन्त्रालयले गरेको प्रस्ताव आह्वानका आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये २०० गन्तव्य छनोट भएको हो । सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिकस्थल, मन्दिर, पर्यटकीयस्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् । छानिएका गन्तव्यस्थलमध्ये इलामको देउमाई नगरपालिका पनि परेको छ । देउमाई नगरपालिकाको पानीटार पर्यटन विकास तथा सिद्धिथुम्कामा टावरसहित पार्क निर्माणका लागि बजेट विनियोजन भएको छ ।

सो आयोजनाका लागि रु एक करोड ४४ लाखको लागत अनुमान गरिएको छ । जसका लागि मन्त्रालयको लागत रु ९४ लाख र साझेदार लागत ५० लाख रुपैयाँ रहेको छ । आयोजनाका लागि सरकारले छ अर्ब ८० करोड विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । यस योजना अन्तर्गत प्रदेश नं १ का १४ जिल्लामा २८ वटा त्यस्ता स्थानको पहिचान भई काम गर्ने सरकारको योजना छ ।
यसअन्तर्गत पहिलो नं मा मोरङको लेटाङ नगरपालिकाको राजारानी ताल संरक्षण र सौन्दर्यका लागि सरकारले रु चार करोड ४९ लाख र स्थानीय पालिकाले रु दुई करोड ४१ लाख साझेदारीमा खर्च गरी सो स्थानको उचित संरक्षण, सम्बद्र्धन र पर्यटकीयस्थल बनाउने योजना छ । एक वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्नेगरी स्थानीय तहले डिपिआर निर्माण गर्ने क्रममा रहेको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot