काठमाडौं, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनको प्रस्ताव गरेका छन् । उनले राजा देखि विप्लवसम्म र सबै दल र पक्षहरुको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलनको प्रस्ताव गरेका हुन् ।
आज सामाजिक सञ्जाल ट्वीटरमा थापाले विप्लव समूहसँग वार्ता हुनुलाई सकारात्मक भनेका छन् । उनले कसैलाई निर्षध नगरी सबै अटाउने राजनीतिक प्रणाली निर्माणमा राजा देखि विप्लवसम्मको सर्वपक्षीय सम्मेलनमा जोड दिएका हुन् ।
सरकारले विप्लवसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा दुई सदस्यीय टोली गठन गरेलगत्तै थापाको पछिल्लो विचार सार्वजनिक भएको हो ।
उनले ट्वीटरमा लेखेका छन्ः नेकपा (माओवादी)विप्लव समुहसँग वार्ता हुनु सकारात्मक हो।यदी साच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ
–फाइल तस्बिरः रिपोर्टर्स नेपाल