डा. अनन्त श्रेष्ठ : पछिल्लो समय धेरै मानिसमा फ्याटी लिभरको समस्या देखिएको छ । यो समस्यालाई बेवास्ता गर्दा कलेजोको क्यान्सरका बिरामी समेत बढेका छन् । फ्याटी लिभर भनेको कलेजोमा बोसो जम्ने समस्या हो । अस्वस्थ खानपान, व्यस्त जीवनशैली र मोटोपनका कारण यो समस्या दिनानुदिन बढिरहेको छ । साधारण मानिसमा उसको कलेजोको आकार अनुसार लगभग ५ प्रतिशतभन्दा कम बोसो जमेको छ भने त्यसलाई सामान्य रुपमा लिइन्छ । तर सोभन्दा बढी बोसो भएको अवस्थालाई फ्याटी लिभर मानिन्छ ।
यो रोग तत्काल ज्यानै लिने जटिल प्रकृतिको नभए पनि बेवास्ता गर्दा यसले कलेजो ड्यामेज गराउने, कलेजोको क्यान्सर गराउने समेत गम्भीर अवस्था सिर्जना गर्छ । कलेजोमा बोसो जम्ने प्रमुख कारणमा अस्वस्थ खानपान, बढी तौल, निस्क्रिय जीवनशैली, बढी मात्रामा अल्कोहलको सेवन, मधुमेह, हेपाटाइटीस-सी आदि हुन् । दीर्घ रोगको लामो समय औषधि सेवन गर्दा पनि यस्तो समस्या देखिन सक्छ ।
फ्याटी लिभर हुने वित्तिकै लक्षण देखा नपर्न सक्छ । यसका लक्षण निकै ढिला मात्र देखापर्छन् । यसको सुरुवाती चरणमा भने यसको अलावा पेटको दाहिने भागमा दुख्नु, गाह्रो हुनु, खाना मन नलाग्नु, बान्ता हुनु, जीउ आलस्य हुनु, मुख नमीठो हुनु आदि हुन्छ । र, क्रोनिक अवस्थामा पुग्यो भने खुट्टा सुन्निने, हिँडडुल गर्न गाह्रो हुने हुन्छ ।
पहिले पहिले फ्याटी लिभर ढल्कँदो उमेरका मानिसमा मात्र हुन्छ भन्ने थियो । तर जंकफुडहरुको प्रयोग, सक्रियता कम भएका कारण हाल यो बच्चाहरुमा पनि देखिने क्रम बढ्दो छ । यसबाट बच्ने उपाय तौल नियन्त्रण गर्ने, मध्यपान नगर्ने, सक्रिय जीवनशैली अप्नाउने, स्वस्थ खानपान र नियमित व्यायाम हुन् ।
बोसो पूरै कलेजोभरि फैलिएर जमेको छ वा कुनै भागमा मात्र थुप्रिएर बसेको छ भने एक्सरे गरी हेरेर कलेजो विशेषज्ञको सल्लाहबमोजिम हटाउने प्रक्रिया अवलम्बन गर्नुपर्छ । साथै के कारणले त्यो जमेको हो, त्यो पत्ता लगाई निदान गर्नुपर्छ । अन्यथा यसले कलेजो क्यान्सर समेत हुन सक्छ ।
डा. श्रेष्ठ कलेजो रोग विशेषज्ञ हुन् ।