चितवन, १८ फागुन । चितवनमा विषादीरहित प्राङ्गारिक उत्पादनको पहिचान सहितको बजारीकरण अभियानको घोषणा गरिएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र चितवन र जिल्ला प्राङ्गारिक सङ्घ चितवनले अभियानको घोषणा गरेका हुन । कार्यक्रममा प्राङ्गारिक उत्पादनको लोगोसमेत सार्वजनिक गरिएको छ । अबदेखि एउटै लोगोमा जिल्लामा उत्पादन भएको अर्गानिक बस्तु बजारमा जानेछ । जसले गर्दा उपभाक्तालाई उपभोग्य बस्तु चिन्न सहज हुने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए ।
“अभियानमा सहभागी हुन चाहने कृषकको आवेदन सङ्कलन गरिन्छ”, उनले भने, “यसको प्रमाणीकरणमा जान चाहने किसानले पेश गरेको विवरण फिल्ड अनुगमन र परीक्षणपछि प्रतिवेदन तयार गरिन्छ ।” पहिलो चरणमा जिल्ला प्राङ्गारिक सङ्घ चितवन ९पिजिएस० र दुई प्राङ्गारिक उत्पादन खरिदकर्ताबीच सम्झौता गरिएको छ ।
पहिलो चरणअन्तर्गत भरतपुर १० स्थित डोको नाम्लो किसान घर र भरतपुर– १० स्थित शिखर खाद्य कुन्ज भान्सानै औषधालय थानिचोकसँग सम्झौता गरिएको हो । अर्गानिक बस्तु खरीदका लागि कालीमाटी फलफूल तथा तरकारी थोक बजारको औसत मूल्यलाई आधार मानिने ढकालले बताए । अभियान सफल बनाउन लागि कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, स्थानीय तह र कृषि विकास निर्देशनालयले अनुगमन गर्नेछन् ।
प्रमुख ढकालले जिल्लामा वृहत अर्गानिक क्षेत्र घोषणा गर्नेतर्फ पनि कार्यालयले सोच बनाएको बताए । उत्पादनलाई बजारसँग जोड्ने यो अभियानको शुरुवात महत्वपूर्ण भएको उनको भनाइ छ । अनुसन्धानकर्ता तथा अग्रज किसान डा भानिश्वर पोखरेलले धेरै लामो समयदेखि बहसमा आएको कुरा आजदेखि औपचारिक शुरुवात भएको भन्दै खुशी व्यक्त गरे। उनले सबैको सामूहिकताबाट मात्र यसबाट प्रतिफल प्राप्त हुने धारणा राखे । उनले प्राङ्गगारिकमा लाग्ने अभियानकर्मीका कारण यो अवस्थासम्म आएको भन्दै अर्गानिकको गुणस्तरमा शङ्का गर्नुपर्ने अवस्था नरहेको बताए । रासस