Logo

भारतमा विद्युत् निर्यात गर्न थप नीतिगत निर्णय अनावश्यक



काठमाडौं, फागुन १९ । भारतले नेपालको विद्युत् पनि किन्ने गरी अन्तरदेशीय विद्युत् आयातनिर्यात कार्यविधि जारी गरेपछि नेपालका ऊर्जा व्यवसायीहरूले स्वागत गरेका छन् । सरकारले पनि विद्युत् व्यापारको विषयमा भारतले गरेको उक्त निर्णय ऐतिहासिक भएको बताएको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले केही दिनअघि उक्त निर्देशिका जारी गर्दै भारतले विद्युत् व्यापार सम्झौता भएका देशसँग विद्युत् आयातनिर्यात गर्न सक्ने व्यवस्था गरेको थियो । नेपालले भारतसँग यसअघि नै विद्युत् व्यापार सम्झौता गरिसकेको छ । अब नेपाललाई भारतमा विद्युत् निर्यात गर्न कानूनी रूपमा बाटो खुलेको छ ।

नेपाल र भारतबीच पहिलेदेखि नै विद्युत् किनबेच सहज बनाउन प्रयास भइरहेको थियो । भारतको कार्यविधि आएसँगै भारतमा विद्युत् व्यापार गर्न दुवै देशमा हुनुपर्ने नीतिगत व्यवस्थाले पूर्णता पाएको छ । नेपालको विद्युत् व्यापार गर्ने निकाय नेपाल विद्युत् प्राधिकरणले अब कुनै पनि समयमा भारतमा विद्युत् निर्यात गर्न सक्ने बताइएको छ ।

भारतको प्राधिकरणले यसै कार्यविधिमार्फत नेपालको विद्युत् किन्ने गरी स्पष्ट रूपमा मार्गदर्शन तयार पारेको छ । नेपाल सरकारले पनि यहाँको प्राधिकरणलाई भारतमा विद्युत् निर्यात गर्न यसअघि नै स्वीकृति दिइसकेको छ । अब प्राधिकरणले आवश्यक प्राविधिक प्रक्रिया पूरा गरेर भारत विद्युत् निर्यात गर्न सक्ने ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले बताए ।

‘भारतमा विद्युत् निर्यात गर्ने सन्दर्भमा आवश्यक नीतिगत व्यवस्था भइसक्यो । अब कुनै नीतिगत निर्णय गर्नु पर्दैन,’ उनले भने, ‘अब प्राधिकरणले विद्युत् विक्रीको आवश्यक प्रक्रिया अगाडि बढाउन सक्छ ।’ भारतको उक्त निर्णय नेपालको ऊर्जाक्षेत्रका लागि फाइदाजक हुने उनले बताए ।

यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का अध्यक्ष कृष्णप्रसाद आचार्यले भारतको निर्णय स्वागतयोग्य भएको बताए । ‘भारतमा विद्युत् विक्री गर्न कानूनी रूपमा बाटो खुलेको छ । अब यसको कार्यान्वयनमा जोड दिनुपर्छ,’ उनले भने, ‘यथाशीघ्र निज क्षेत्रलाई पनि विद्युत् व्यापार गर्न पाउने गरी नेपाल सरकारले व्यवस्था गर्नुपर्छ ।’

भारतका विद्युत् व्यापार कम्पनीमध्ये भारत सरकारले चयन गरेका कम्पनीले मात्र नेपालबाट विद्युत् आयात गर्न पाउने व्यवस्था गरिएको छ । त्यस्ता कम्पनीले भारतको ब्यूरो अफ इनर्जी इफिसिन्सी (डीआईएससीओएम) सँग विद्युत् किनबेच सम्झौता गरेको हुनुपर्ने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्