काठमाडौं, फागुन १९ । नेपालकै पर्यटकीय केन्द्र पोखराको मुटु मानिने फेवातालको गहिराइ बढाउन सुरु गरिएको छ । फेवातालको बाँध मर्मतसम्भार गर्न फेवातालको पानीको सतह घटाएको मौका पारेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजनमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बृहत् जलाधार व्यवस्थापन कार्यालय, पोखरा महानगरपालिका, जलाधार व्यवस्थापन कार्यालय तनहुँ र ताल संरक्षण तथा विकास प्राधिकरणको सहकार्यमा आजदेखि फेवातालबाट माटो निकाल्न सुरु गरिएको हो ।
फेवातालको तल्लो क्षेत्रमा पर्ने फिर्केखोलाबाट आएर थिग्रिएको माटो निकालेर फेवातालबाट माटो निकाल्ने अभियानको मंगलबार बिहान शुभारम्भ गरियो । शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख अनुप गुरुङलगायतको उपस्थितिमा अभियानको शुभारम्भ गरिएको थियो ।
फेवातालमा मिसिने फिर्केखोलाबाट सुरु भएको माटो निकाल्ने अभियान चिसाखोलाहुँदै हर्पनखोला, खहरेखोलासम्म पुग्नेछ । जहाँ ती खोलाहरूले बगाएर ल्याएको ढुंगा, गिट्टी, बालुवालगायतका गेग्रान थुप्रिएर बसेको छ । निकालिएको माटो नजिकै रहेको दबेको क्षेत्र तथा खाल्डाखुल्डी पुरिने जनाइएको छ ।
फेवातालबाट १५ हजार घनमिटर माटो निकाल्ने तयारी गरिएको छ । फेवातालको माटो ठाउँअनुसार कहीँ एक डेढ मिटर त कहीँ ४ मिटरसम्म माटो निकाल्ने तयारी गरिएको माटो निकाल्न बनेको फेवातालको माटो व्यवस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले जानकारी दिए । यसका लागि १ करोड ३३ लाख खर्च लाग्ने लागत अनुमान गरिएको उनको भनाइ छ । ‘एक्साभेटरको प्रयोग गर्दा करिब २५ लाखमै हुने हो, उनले भने, तर फेवाताल संवेदनशील क्षेत्र भएकाले सबै ठाउँमा एक्साभेटर प्रयोग गर्न नसकिने भएकाले मान्छेको प्रयोग गर्नुपर्ने बाध्यता रहँदा खर्च बढ्छ,’ उनले भने ।
प्रदेश सरकार, महानगर वा ताल संरक्षण तथा विकास प्राधिकरणसँग बजेट नभएपछि कोमागाने पार्क सौन्दर्यकरणका लागि छुट्याएको २० लाखमध्ये ५ लाख निकालेर काम सुरु गरिएको संयोजक श्रेष्ठले बताए । त्यसपछि फेवा जलाधार क्षेत्र संरक्षणका लागि छुट्याएको रकम पनि तानेर फेवातालको माटो निकाल्न प्रयोग गरिने उनको भनाइ छ । त्यसका अलावा तनहुँ जलाधार क्षेत्र संरक्षणका लागि छुट्याएको करिब ३ लाख रकमसमेत माटो निकाल्न प्रयोग गरिने उनले बताए । नागरिक दैनिकबाट