Logo

भारतसँग ‘कम्फर्टेबल’ सरकारबारे प्रचण्डले भनेः ओलीका साइबर स्यालहरुले अपव्याख्या गरेछन्



काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको कम्फर्टेबल सरकारबारे आफ्नो अभिव्यक्तिको अपव्याख्या गरिएको टिप्पणी गरेका छन् । उनले नियोजित रुपमा अभिव्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थहरुले काटेर अपव्याख्या गरेको टिप्पणी गरेका हुन् ।

‘ओलीका साइबर स्यालहरुले भिडियो काटेर अपव्याख्या गरेछन्,’ पेरिसडाँडामा आज आयोजित केन्द्रीय समिति बैठकमा प्रचण्डले भने,‘मैंले चीनको कुरा पनि गरेको थिएँ तर अपव्याख्या गरेछन् ।’ उनले आगामी दिनमा बोल्दा सचेत हुने समेत बताए ।

नेकपा स्थायी कमिटी सदस्य भीम रावलले प्रचण्डको अभिव्यक्तिबारे केन्द्रीय कमिटि बैठकमा कुरा उठेको बताए । यसबारे प्रचण्डले चीनको समेत नाम लिएकोमा काटेर अपव्याख्या गरिएको बताएको रावलले जानकारी दिए ।

ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा प्रचण्डले काँग्रेस र जनता समाजवादी नेकपासँग मिलेर सरकार बनाउँदा भारतलाई पनि कम्फर्टेबल हुने बताएका थिए । उनको यो अभिव्यक्ति विवादमा परेको थियो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्