काठमाडौं, १९ फागुन । तत्कालिन माओवादी विभाजनपछि नयाँ शक्ति पार्टी स्थापना गरी चुनाव लड्दा डा. बाबुराम भट्टराई मात्र प्रतिनिधि सभामा निर्वाचित भएर आए । त्यतिबेला कतिपयले बाबुरामको राजनीतिक भविष्य निकै कमजोर भएको आँकलन गरे ।
बाबुरामले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकता गरे । उनी उक्त पार्टीको अध्यक्ष बने । बाबुराम र उपेन्द्र नेतृत्वको दलको आकार बढ्यो । त्यसपछि बाबुरामकै पहलमा राष्ट्रिय जनता पार्टीसँग एकता भयो । बाबुराम चौंथो वरियतामा रहे । उनलाई पछि संघीय परिषदको अध्यक्ष बनाइयो । जनता समाजवादी पार्टी गठन भएपछि बलियो तेस्रो शक्ति बन्यो । अहिले उक्त दलसँग प्रतिनिधि सभामा ३४ सदस्य रहेका छन् ।
एक सिट हुँदै यही प्रतिनिधि सभाको कार्यकालमा ३४ सिटको दलको संघीय परिषदका अध्यक्ष बनेका बाबुराम प्रधानमन्त्रीका प्रबल दाबेदार देखिएका छन् । उनले भारतबाट मङ्गलबार स्वास्थ्योपचारपछि फर्किएलगत्तै सहमतिको चुनावी सरकारको प्रस्ताव समेत गरेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित बर्हिगमनपछि प्रधानमन्त्रीको प्रतिष्पर्धामा केही नेताहरु देखिएका छन् । जसमध्ये काँग्रेस सभापति शेरबहादुर देउवा र उनकै दलका अर्का नेता प्रकाशमान सिंह छन् । देउवालाई प्रचण्ड र माधव नेपाल या ओलीकै साथ हुनसक्छ । तर, पार्टीभित्रबाट उनलाई रोक्ने प्रयास भएको देउवाको आजको अभिव्यक्तिले प्रष्ट पारेको छ । देउवाले सार्वजनिक रुपमै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई सानो चित्त नबनाउन भनेका छन् । यो पौडेलले प्रकाशमान सिंहलाई देउवाविरुद्ध अगाडि बढाउने संकेतको रुपमा बुझिएको छ ।
देउवा रोकिए विकल्पमा प्रचण्ड या माधव नेपाल आउन सक्छन् । तर, उनीहरुलाई पनि निकै चुनौती छ । त्यसैले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै आएका छन् ।
यस्तो अवस्थामा बाबुराम भट्टराईको सम्भावना बलियो हुनसक्छ । तेस्रो शक्तिका रुपमा रहेका बाबुरामलाई प्रचण्ड र माधव नेपाल समेतको साथ भएमा पासा पल्टन सक्छ । त्यतिबेला भट्टराई चुनावी सरकारको प्रधानमन्त्री बन्न सक्छन् ।