Logo

सरकार र चन्दबीच वार्ताः निजीक्षेत्र उत्साहित



काठमाडौं, फागुन २० । हिंसात्मक गतिविधिमा लागेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले बुधवारदेखि शुरू गरेको वार्ता सकारात्मक उन्मुख देखिएको छ । यसले निजीक्षेत्रलाई उत्साहित बनाएको छ ।

द्वन्द्वरत पक्ष शान्तिपूर्ण राजनीतिमा आउँदा लगानीमैत्री वातावरण विस्तारमा सघाउ पुग्ने र उत्पादन बढाउनका साथै, आपूर्ति प्रणालीलाई समेत चुस्तदुरुस्त राख्न सहज पुग्ने भन्दै निजीक्षेत्रले चन्दसँगको वार्तालाई सरकारले सफल पार्नुपर्ने बताएको छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजनीतिक अस्थिरता हटाउन र संविधानको सही कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डोर्‍याउन द्वन्द्वरत पक्षसँगको वार्ता सफल पार्न सके महत्त्वपूर्ण हुने बताउँछन् । ‘संविधान सबैले स्वीकार्ने वातावरण भयो भने पनि लगानीमैत्री वतावरण सृजना हुनेछ,’ उनले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले द्वन्द्वरत पक्षसँग सरकारले वार्ता थाल्नु सकारात्मक भएको बताए । उनका अनुसार सबै राजनीतिक दल शान्तिपूर्ण राजनीतिमा आउनुपर्छ र मुलुकलाई आर्थिक सबलीकरणमा लैजान लाग्नुपर्छ । हिंसात्मक गतिविधिमा लागेकाहरू शान्तिपूर्ण राजनीतिमा आउनेबित्तिकै उद्योगहरूलाई उत्पादन बढाउन र आपूर्ति प्रणालीलाई सहज बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

‘सबै राजनीतिक दललाई सरकारले शान्तिपूर्ण हिसाबले राजनीति गर्ने ठाउँमा ल्याउने हो भने निजीक्षेत्रलाई काम गर्ने वातावरण बन्छ, सरकारले राखेका महत्त्वाकांक्षी लक्ष्यहरूसमेत पूरा हुनेछन्,’ मोरले भने ।

गृहमन्त्री रामबहादुर थापाले चन्द नेतृत्वको नेकपासँगको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

बुधवार बिहान र साँझ गरी दुई चरणमा सरकारी वार्ता टोली र चन्द नेतृत्वको नेकपाको वार्ता टोलीबीच संवाद भएको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot