काठमाडौं, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रमा नवीन प्रविधि, यान्त्रीकरण र आधुनिक प्रणाली प्रयोग गरी कृषि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णय गरेको बताएका छन् ।
कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णयलाई खारेज गर्न सर्वोच्च अदालतमा परेको रिटमा अदालतले सरकारसँग मागेको जवाफमा सो प्रतिक्रिया दिए। उनले उत्पादकत्व वृद्धि गर्न तोकिएको क्षेत्रमा तोकिएको सर्तमा आयात प्रतिस्थापना गरी कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन र निर्यात प्रवद्र्धन गर्न विदेशी लगानी आवश्यक रहेको अदालतलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत अदालतलाई पठाएको जवाफमा उल्लेख गरे ।
निर्यातयोग्य कृषि उत्पादनमा जोड दिन सर्तसहित विदेशी लगानी आकर्षित गर्न अनुसूचीमा हेरफेर गरिएको कार्यबाट कोही कसैलाई असर पर्ने भन्नै हुँदैन, अदालतलाई पठाएको जवाफ भनिएको छ, “लगानी खुला गर्ने कार्यले स्वदेशी कृषि कार्य, किसान तथा स्वदेशी कृषि उद्योगलाई नकारात्मक असर पर्दैन । ”
निर्यात प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पर्नुका साथै रोजगारीमा वृद्धि हुने तथा देशको अर्थतन्त्रलाई सबल र सक्षम बनाउन यसबाट सहयोग पुग्ने भएको हुनाले नेपाल सरकार, मन्त्रिपरिषद्बाट अनुसूचीमा संशोधन गरिएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे। उनले सरकारको सो निर्णय संविधान अनुकूल हुनुका साथै मुलुकको समृद्धिका लागि गरिएको नितान्त नीतिगत निर्णय भएकाले सो सम्बन्धमा रिट निवेदकले माग गरेबमोजिम आदेश हुनुपर्ने नहुँदा सो रिट खारेजीका माग गरे ।
आयातमूलक अर्थ व्यवस्थालाई प्रतिस्थापन गर्दै निर्यातमूलक अर्थतन्त्र स्थापना गरी दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्न तथा आत्मनिर्भरताका लागि पुँजी परिचालन तथा प्रविधिको उपयोग अनिवार्य सर्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सीपविहीन युुवालाई स्वदेशमै आवश्यक तालिम दिन तथा आवश्यक रोजगारको व्यवस्थासमेत अहिलेको आवश्यकता रहेको हुनाले लगानी क्षेत्रलाई केही खुकुलो बनाएको जवाफ दिए । गोरखापत्र दैनिकबाट