Logo

प्रधानमन्त्री पद अरुलाई दिएर भएपनि ओलीमाथि ‘राजनीतिक जीत’ हासिल गर्ने प्रचण्डको रणनीति



काठमाडौं, २० फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओेलीसँगको राजनीतिक संघर्षलाई गर या मरका रुपमा लिएको देखिन्छ । उनले प्रधानमन्त्री पद अर्को कुनै नेतालाई दिएर भएपनि ओलीविरुद्ध राजनीतिक जीत हासिल गर्ने रणनीति बनाएका छन् ।

प्रचण्डले प्रधानमन्त्रीको प्रस्ताव अन्य नेताहरुलाई गरेका छन् । जसमा काँग्रेस सभापति शेरबहादुर देउवा मुख्य हुन् । देउवालाई प्रधानमन्त्री बन्न साथ दिएर भएपनि प्रचण्डले ओलीलाई सत्ताबाट हटाउने प्रयास गरिरहेका छन् । त्यसका लागि उनले आफू प्रधानमन्त्रीको लागि प्रस्ताव भएको अविश्वासको प्रस्तावलाई फिर्ता लिने र संसदको प्रक्रियामा नलाने भइसकेका छन् ।

प्रचण्डसँग अहिले ओलीलाई हटाउन तीनवटा विकल्प छन् । पहिलो यसअघि नेकपाकै सांसदहरुले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव अगाडि बढाउने या अन्य कुनै प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीको प्रस्ताव गरी अविश्वासको प्रस्ताव लाने । तेस्रो विकल्प संसदीय दलबाट ओलीलाई हटाएर स्वतः प्रधानमन्त्री पदबाट पदमुक्त गर्ने । यी विकल्पमध्ये प्रचण्डले अर्को अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

ओलीलाई हटाएर नयाँ सरकार गठन हुँदा प्रचण्ड नेकपाको आफ्नो समूह प्रमुख प्रतिपक्षी दलमै सिमित हुन पनि तयार देखिएका छन् । त्यस्तो अवस्थामा पनि उनी बलियो हुनसक्छन् । संवैधानिक परिषद्मा सभामुख आफू निकट अग्निप्रसाद सापकोटा रहने र आफू स्वयं संसदीय दलको नेता भएकाले संविधानत सदस्य हुनसक्छन् ।

प्रचण्डले सुर्य चिन्हमा विशेष जोड दिएका छन् । चिन्ह आफ्नो हातमा आउनु भनेको पूर्व एमालेमा समेत कब्जा जमाउनु हो । प्रचण्ड सुर्य चिन्ह आफ्नो बनाएर राजनीतिक जीत हासिल गर्न चाहन्छन् । यसका लागि उनी प्रधानमन्त्री पद समेत अरु दलका नेतालाई दिन तयार देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्