फागुन २०, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा सहभागिताका बारेमा एकताका साथ जनताको अपेक्षा अनुसार नै निर्णय गर्ने जनाएको छ । बिहीवार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले जनअपेक्षा र संविधान अनुसार नै उपयुक्त समयमा सरकारका बारेमा निर्णय लिइने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार संसदीय दलले निर्णय नगरी अहिले नै सबै कुरा भन्न नमिल्ने बताए । तर उनले यसपल्ट इन्जुरी टाइममा गोल गर्ने भन्दै अन्तिम समयमा भए पनि सरकारको नेतृत्व गर्न सक्ने आशय व्यक्त गरे ।
त्यस्तै प्रवक्ता शर्माले विप्लव समूहसँग सरकारको सहमति सकारात्मक रहेको भन्दै त्यसका सहमतिबारे जानकारी नआएकाले यस बिषयमा पछि टिप्पणी गर्ने बताए । संविधानको परिधिभित्र रहेर सरकार र बिप्लव समूह समस्याको समाधान गर्नेतर्फ उन्मुख हुनुपर्ने उनको भनाई छ ।
बैठकमा संवैधानिक, राजनीतिक कोण, संविधानको हित लगाएतका बिभिन्न कोणबाट पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो ।