तनहुँ, फागुन २१ । चन्दा उठाएर समुदायले सञ्चालन गरेको तनहुँको एक क्याम्पस देशकै उत्कृष्ट क्याम्पस बन्न सफल भएको छ । व्यास नगरपालिका–१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त चालु आर्थिक वर्ष र विगतका वर्षका शैक्षिक सत्रमा राम्रो नतिजा प्राप्त गरी उत्कृष्ट बनेको हो ।
चालु आर्थिक वर्षमा व्याम्पसले एमबीएस तहको चौथो सेमेस्टरमा हालै प्रकाशित नजितामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको क्याम्पसले जनाएको छ । क्याम्पसले गत वर्ष पनि शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको थियो ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेका अनुसार चालु आर्थिक वर्षहरुमा नतिजाहरु राम्रो ल्याइरहेकोमा यस वर्ष पनि उत्कृष्ट हुने सम्भावना रहेको छ । सरकारी क्याम्पसको भन्दा समुदायको लगानीमा सञ्चालन गरिएको क्याम्पसको नतिजा राम्रो भए पनि सरकारले गुनासा, आवश्यकता र वेदनालाई सम्बोधन नगरेको क्याम्पस प्रमुख हड्खलेले गुनासो गरे ।
क्याम्पसमा हाल दुई हजार पाँच सय विद्यार्थीले अध्ययन गर्ने गरेको प्रत्येक वर्ष ५ सय विद्यार्थी बढ्ने गरेको क्याम्पसले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।