Logo

सरकारको नेतृत्व लिने कांग्रेस संकेत



काठमाडौं, फागुन २१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्व लिन अग्रसर हुने संकेत गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा दुई समूहमा विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकारको नेतृत्वका लागि सकारात्मक देखिएको हो ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार भएको पार्टी पदाधिकारी, पूर्वपदाधिकारीसहितका नेताहरूको बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल सुरु भएको छ । राजनीतिक रूपमा दुई समूहमा विभाजन भए पनि कानुनी रूपमा अझै एउटै रहेको नेकपाका दुवै समूहले सरकारको नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव गरेका छन् ।

पदाधिकारी बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याएको बताउँदै प्रधानमन्त्री बन्न आएको प्रस्तावमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । ‘फागुन २३ गते संसद् बैठक बस्न लागेको अवस्थामा नेकपाका दुवै पक्ष र सञ्चार माध्यमहरूसहित देश तथा विदेशमा रहनुभएका सबैले कांग्रेसतर्फ हेरिरहनुभएको छ,’ प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्री पदले ढोका ढकढक्याएको छ तर कांग्रेसले ढोका खोलेर ग्रहण गरिसकेको छैन । हामीले संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौं ।’

दुवै समूहबाट सरकारको नेतृत्वका लागि प्रस्ताव आएको भन्दै सभापति शेरबहादुर देउवासहितका नेताहरू अब कसरी र कोसँग मिलेर अघि बढ्ने भन्ने छलफलमा प्रवेश गरेका छन् । पार्टीले अग्रसरता नलिँदा नयाँ सरकार गठनदेखि अहिलेको विद्यमान अवस्थामा परिवर्तन नआउने कांग्रेस नेताहरूको बुझाइ छ । त्यसका लागि आवश्यक परे कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राखेर अघि बढ्नुपर्ने नेताहरूको बुझाइछ ।

तर कतिपय नेताले नेकपा अहिलेसम्म एउटै दल भएकाले पार्टीले अविश्वासको प्रस्ताव राख्न संख्या पनि नपुग्ने र त्यो पारित हुने सम्भावना पनि कम रहने भन्दै राजनीतिक दलसम्बन्धी ऐन र संविधानको व्यवस्थालाई ख्याल गर्न नेतृत्वलाई सुझाएका छन् । यद्यपि शुक्रबार १ बजेका लागि बोलाइएको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव राख्ने विषयमा पनि छलफल हुने आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्